२९ बैशाख, धादिङ । उनको दुवै खुट्टा चल्दैन । जन्मदै पोलियो भएर लुलो भएका गोडा अहिले पनि उस्ताको उस्तै । अरुबाट उपचार हुन्छ भन्ने सुनेको दलित परिवारले आफ्नो बच्चाको लुलो गोडा सोझ्याउने त परै जाओस् पेटभरि खान नपाएको पनि महिनौँ भइसक्यो ।
कुम्पुर गाविसको कुम्पुर भञ्जाङ निवासी मिठुमायाँ नेपालीले छोरीको पोलियो भएको गोडा देखाएर माग्न थालेको धेरै भयो । न उनले मागेर पेटभरि खान पाएकी छिन् न बच्चाको उपचार गराउने रकम नै जम्मा गर्न सकेकी छिन् ।
उनी त सदरमुकाममा बच्चाका लागि रु पाँचमा भविष्य खोज्दैछिन् अर्थात पाँच रुपैयाँ मागेर बच्चा र आफू बाँच्ने उपाय निकाल्दैछिन् । पेटपाल्नकै लागि आमाछोरी मागेर सदरमुकाममा हिँडिरहेका छन् ।
मिठुमायाँकी ११ वर्षीया छोरी निरमायाँको दुबै खुट्टा जन्मजात लुलो हो । उनले अहिलेसम्म छोरीको उपचार गराउन सकेकी छैनन् । घरमा खाने अन्न छैन । निरमायाँका बुबा मजदुरी गरेर अन्य बालबालिका पाल्छन् ।
मिठुमायाँका चार छोरा र चार छोरी छन् । उनका श्रीमान् अहिले घरमा रहेका सात बच्चाका लागि ज्याला मजदुरी गर्ने र उसकै आम्दानीबाट बिहान बेलुकाको छाक टार्ने गरेको मिठुमायाँले बताइन् ।
बच्चा रोक्ने (परिवार नियोजन गर्ने) जानकारी नभएर उनीहरुका बच्चा पनि धेरै भयो ।
परिवारमा कसैले पढेका छैनन् । अहिले साना बच्चा विद्यालय जान्छन् तर मजदुरी नगरी खान नपुग्ने भएकाले गाउँमा काम नपाएको दिन मात्र उनीहरु पढ्न जान्छन् ।
उनीहरुलाई आफ्नो जग्गा जमिनले एक महिना पनि खान पुग्दैन । धेरै बालबालिका भएकाले नेपाली परिवार अहिले विचल्लीमा छ ।
मिठुमायाँ पेटभरि खान काखमा लुलो खुट्टा भएकी निरमायाँलाई बोकेर सदरमुकाममा आफूहरुलाई बचाउन याचना गर्दै हिँडेकी छिन् तर केही मान्छेले उनलाई हप्काएर पठाउँछ भने केही मान्छेले उनलाई बच्चाका लागि भनेर पैसा दिएर पठाउँछन् ।
छोरीका लागि उठाएको पैसाले आमाछोरी पाउरोटी किनेर जीवन धान्दै आएका छन् । छोरीको उपचार गराउन सके जीवनमा त्यो नै ठूलो सफलता हुने उनको भनाइ छ ।
|