मलेसियामा खोटाङका दुई युवक १३ दिनदेखि बेपत्ता
२२ चैत, खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका खोटाङका दुई युवक १३ दिनदेखि बेपत्ता छन् । गत चैत ६ गते मलेसिया पुगेका डाँडागाउँ-६ का २६ वर्षीय अस्बिन सिग्देल र टेम्मा-९ का २३ वर्षीय प्रदिप खत्री बेपत्ता भएका हुन् । खोटाङकै लफ्याङ घर भई हाल काठमाडौँ बस्दै आएका डिल्ली कटवालमार्फत काठमाडौँको प्याराडाइज मेनपावर कम्पनीबाट खोटाङका चार, सुनसरीका एक र अन्य दुई गरी जम्मा सात नेपाली रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए ।
बेपत्ताहरुको खोजी र सकुशल नेपाल फिर्ता ल्याउन वैदेशिक रोजगार विभागमा उजुरी हालिएको सुरक्षित आप्रवासन सूचना केन्द्र खोटाङका कार्यक्रम संयोजक भक्त राईले जानकारी दिनुभयो ।यसका लागि विभागले मेनपावर कम्पनी र एजेन्टलाई विभागमै बोलाएर तत्काल उद्धार गर्न आदेश दिइसकेको पनि संयोजक राइले बताउनुभयो ।यसअघि मेनपावर कम्पनी र एजेन्टबाटै ठगिएर सँगै मलेसिया पुगेका खोटाङका दुई युवकलाई भने गत चैत १७ गते उद्धार गरिएको थियो ।
सूचना केन्द्रको पहलमा नेर्पा-४ का ३३ वर्षीय तोयानाथ बास्तोला र दिक्तेल-३ का २३ वर्षीय राजकुमार पाण्डेलाई उद्धार गरिएको हो ।उद्धारपछि उनीहरु आफूले कम्पनीमा बुझाएको धरौटी रकम लिने र घर र्फकने तयारीमा रहेको केन्द्रले जनाएको छ । संयोजक राईका अनुसार केन्द्रमा आएको निवेदनको आधारमा पिपुल्स फोरममार्फत मेनपावर कम्पनी र एजेन्टलाई प्रतिवादी बनाएर वैदेशिक रोजगार विभागमा उजुरी हालेपछि उनीहरु नेपाल र्फकने स्थिति बनेको हो ।
|