सहरीकरण, जीवनशैलीमा परिवर्तनसँगै मधुमेह, उच्च रक्तचाप, पत्थरी आदि समस्याले हाल मुलुकमा दीर्घकालीन रूपमा मृगौला फेल हुने समस्या बढ्दो छ ।
हालसम्म यो रोगलाई समाप्त गर्ने कुनै औषधि उपलब्ध छैन । तर समयमै सतर्कता अपनाए यस्ता रोगीहरूलाई डायलासिस वा मृगौला प्रत्यारोपणसम्मको स्थितिबाट जोगाउन सकिन्छ । आफ्नो मृगौलाको स्थिति जान्न वर्षेनि रगत र पिसाबसम्बन्धी सामान्य परीक्षण गरे मात्रै पनि धेरै हदसम्म यो समस्याबाट बच्न सकिन्छ ।
‘मृगौला खराब हुने प्रक्रिया धेरै सुस्त गतिमा अगाडि बढेको हुन्छ जुन महिनौंसम्म जारी रहन्छ,’ राष्ट्रिय मृगौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार कापmले भन्छन्, ‘लामो समयपछि रोगीका दुवै मृगौला खराब हुँदै तिनले काम गर्न बन्द गर्छन् । यस्तो स्थितिलाई कुनै औषधि, डायलासिस वा शल्यक्रियाले निको पार्न सकिँदैन ।’
नेपालका ३० लाख व्यक्तिमा ठूलो वा सानो मृगौला रोग लागेको आँकलन गरिएको सरकारको मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् । तीमध्ये वर्षेनि ३ हजारजनाको मृगौला फेल हुने गरेको मानिन्छ । यस्ता मृगौला फेल हुनेमध्ये २७ सय नेपाली उपयुक्त उपचार केन्द्रमै नपुगी मृत्युको मुखमा पुग्ने गरेका छन् ।
‘मृगौलाको अवस्था जान्न रगतको जाच गरी रगतमा ब्यर्थ उत्पादन (क्रियाटिनिन) को बढदो स्तरको पहिचान गर्न सकिन्छ,’ मृगौला रोग विशेषज्ञ डा. कापmले भन्छन्, ‘यो अति सामान्य र अत्यन्त कम खर्चिलो परीक्षण हो ।’
सामान्य व्यक्तिमा मृगौलाको छान्ने प्रक्रियाले पिसाबबाट प्रोटिन ननिस्कोस् भन्ने सुनिश्चित गर्ने गर्छ । यो कुरो पिसाब परीक्षण गर्दा सजिलै थाहा पाउन सकिन्छ । काफ्लेका अनुसार, पिसाबबाट प्रोटिन निस्कन थाल्नु मृगौला बिग्रन लागेको पूर्वलक्षणमध्ये एउटा हो ।
मृगौला ९० प्रतिशतभन्दा बढी बिग्रेको वा यो अंगले काम गर्न बन्द गरेको अवस्थालाई पूर्ण रूपमा मृगौला फेल भएको भनिन्छ ।
काफ्ले भन्छन्, ‘यो अवस्थामा रोगीलाई नियमित डायलासिस वा मृगौला प्रत्यारोपणबाहेक कुनै विकल्प हुँदैन ।’
मृगौलाको कार्यक्षमता ३५ देखि ५० प्रतिशतसम्म कम हुँदासम्म रोगको लक्षण देखिँदैन । त्यसैले नियमित रूपमा मृगौला परीक्षण गराउनु आवश्यक हुन्छ । ‘यो स्थितिमा रगतमा क्रियाटिनिन र
युरियाको स्तरमा अलि वृद्घ िदेखिन्छ,’ काफ्ले भन्छन्, ‘बिहान-बिहान अनुहार सुन्निएको देखिनु यो रोगको पहिलो लक्षण हो ।’ यस्तै, सामान्य रूपले पानी खाने व्यक्तिको पिसाब दिनभरमा आधा लिटरभन्दा कम वा तीन लिटरभन्दा बढी भए त्यो पनि मृगौला रोगको प्रारम्भिक लक्षण हुन सक्छ ।
दीर्घकालीन मृगौला फेलको सुरुआती अवस्थामा, जब यो अंग त्यति बिगि्रसकेको हुँदैन, रोग पहिचानपछि औषधि र अनुकूल आहार विहारद्वारा उपचार गरिन्छ । ‘मृगौला फेलको प्रारम्भिक अवस्थामै रोग पहिचान गरी औषधि र आहार विहारमा नियन्त्रण गरेर प्रत्यारोपण वा डायलासिस नै गर्नुपर्ने अवस्थाबाट जोगिन
सकिन्छ ।’
यस्तो स्थितिमा चिकित्सकहरूले मृगौलाको बाँकी रहेको कार्यक्षमता कायम राख्दै मृगौलालाई बढी बिगि्रनबाट जोगाउँछन् । विज्ञहरूको अनुसार, चिकित्सकीय उपचारले मृगौला खराब हुने तीव्रतासमेत कम गरिन्छ । उचित उपचारका माध्यमले डायलासिस वा मृगौला प्रत्यारोपणको स्थितिलाई सम्भव भएसम्म टार्ने प्रयास गरिन्छ ।
के गर्छ मृगौलाले ?
प्रत्येक मिनेट मृगौलामा एक लिटरदेखि १२ सय मिलिलिटर -एक लिटर दुई सय मिलिलिटरसम्म) सम्म रगत पुग्ने गर्छ ।
मृगौलाको आकारको अनुपातमा यो मात्रा निकै बढी हो । मृगौलाले हाम्रो रगतबाट विषाक्त पदार्थ एवं अनावश्यक पानी बाहिर निकाल्छ र शरीरलाई सफा राख्छ । मृगौलाले शरीरमा रक्तचाप नियन्त्रण, सोडियम र पोटासियमको मात्रामा नियन्त्रणसँगै रगतको अम्लियता नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसले रातो रक्त कण बनाउन सघाउँछ र शरीरमा क्याल्सियमको मात्रा सही राखेर हाड बलियो बनाउँछ ।
मृगौला रोगको लक्षण
बिहान बढी अनुहार सुन्निनु
आँखाको चारैतर्फ र खुट्टा सुन्निनु
भोक कम लाग्नु
वाकवाकी लाग्नु
कमजोरी अनुभव लाग्नु
छिट्टै थाक्नु
शरीरमा रगतको कमी हुनु
कम उमेरमा उच्च रक्तचाप हुनु
कम्मरको तल्लो भाग दुख्नु
पिसाब धमिलो वा रातो हुनु
राति पिसाब लागेको लाग्यै गर्नु
मृगौला स्वस्थ राख्न
-सधैं चुस्त र ऊर्जावान् रहनुस् ।
दिनहुँ व्यायाम गर्नुस् ।
यसबाट रक्तचाप नियन्त्रणमा राख्न मद्दत मिल्छ ।
-मधुमेह नियन्त्रित राख्नुस् । मधुमेहले मृगौलालाई बिगार्छ । यसैले रगतमा चिनीको मात्रा ठिक्क हुनुपर्छ ।
-उच्च रक्तचाप नियन्त्रण राख्नुस् । उच्च रक्तचाप दीर्घकालीन मृगौला रोगको दोस्रो नम्बरमा आउने शत्रु हो ।
-तौल सन्तुलित राख्नुस् । सन्तुलित आहार र नियमित व्यायामबाट तौल नियन्त्रण गर्न सकिन्छ ।
यसो गर्दा मधुमेह, मुटु रोगसहित अन्य रोगको रोकथाममा सघाउ पुुग्छ । यी रोगले क्रोनिक मृगौला रोग उत्पन्न गर्छन् ।
-नियमित रूपमा मृगौलाको कार्यक्षमता परीक्षण गराउनुस् । मृगौला रोगको खतरा हुनेहरूले नियमित रुपमा मृगौला जाँच गराउनुपर्छ । ठीक समयमा कमजोरी थाहा पाउन सके उपचार हुन सक्छ, अनि मृगौला बिगि्रने सम्भावना कम हुन्छ ।
-धूमपान र तमाखु सेवन नगर्नुस् । यो अम्मलले एथेरोस्कलेरोसिस नामक विशेष प्रकारको रोग हुन्छ र यसले रक्तनलीमा बहाव मत्थर पार्छ । मृगौलामा रगत कम जाँदा यसको कार्यक्षमता घट्छ ।
-चिकित्सकको सल्लाहबिना औषधि नखानुस् । मेडिकलबाट मनखुसी मागेर खाइने कतिपय औषधि मृगौलाका लागि हानिकारक हुन्छन् । पीडानाशक सामान्य औषधि (जस्तै: स्टेराइड, एन्टिइन्फेलामेट्री) नियमित उपयोग गर्नाले मृगौला खराब हुन्छ ।
-दिनहुँ करिब तीन लिटर पानी खाने गर्नुस् । नुन कम खानुस् । बढी तारेको खाद्यपदार्थमा लोभ नगर्नुस् ।
|