प्रहरीले चुल्ठो काटेपछि टि्वटर र फेसबुक भरि कपालै कपाल !

१७ फागुन, काठमाडौं । राजधानीमा आपराधिक कृयाकलाप नियन्त्रण गर्न भन्दै प्रहरीले लामो कपाल पाल्ने र कानमा मुन्द्रा लगाउने युवाहरुलाई पक्राउ गर्न थालेपछि यसको बिरोध शुरु भएको छ । फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालमा सरकार र प्रहरीको व्यवहारप्रति निकै खरो आलोचना गरिएको छ । कपाल पाल्नु र मुन्द्री लगाउनु व्यक्तिगत स्वतन्त्रता भएको युवाहरुको तर्क छ । पत्रकार गजेन्द्र बुढाथोकीले आफ्नो टि्वटरमा लेख्नुभएको छ – ‘पछाडिको पाटोमात्रै भए पनि अगाडि त चिल्लो भैसक्यो । पुनः लामो कपाल पाल्ने निधो गरियो, पुलिसका बेतुके अभियानप्रति घोर असहमति जनाउन ।’ अदृश्य संसारका नाममा टि्वटरमा लेखिएको छ -’कपाल-मुन्द्रासँग रीस देखाउन के विधि सिपालु हो हाम्रो राज्य । यो कपाल-मुन्द्राबाट सरेर बोल्ने-सोच्ने कुरा काटिन नि सक्छ, सावधान !’ यस्तै शान्ता झाँक्रीले व्यंग्य गर्दै लेख्नुभएको छ -’छोरी मान्छेका लागि चाहिँ कुनै योजना रहेन छ पुलिससँग ? छोरी मान्छेको पनि कपाल कलर गर्ने, कर्ली, स्ट्रेट गरिदिए हुने नि ।’ प्रमोद न्यौपानेले लेख्नुभएको छ -’खुराफाती पुलिसहरु । गधालाई भारी नपुगे झैं हो के । दिनभरि डण्डा बोक्यो बस्यो….केही त आखिर गर्नै पर्यो । ल भाइ कपाल काट्दे ।’ लक्ष्मण गुरुङको टि्वटरमा लेखिएको छ -’कपाल अलि अलि लामो हुँदै गाको छ । यही ताल हो भने मलाई नि २-३ हप्तापछि पुलिसले समाउन बेर छैन, त्यही भएर आजै नै कपाल काटेको स्थिति ।’ गौरवले टि्वटरमा लेख्नुभएको छ-’डनहरु काठमाडौंमा खुल्लम खुल्ला हिँड्छन् । नाम चलेका डन त राजनीतिक संरक्षणमा छन्, उनीहरुको रौं पनि हल्लाउन सक्दैन ।’ धेरैले प्रधानमन्त्रीलाई टि्वटरमा प्रश्न गरेका छन्-’लौ सरकार, पहिला केटाहरुले यति इन्च भन्दा लामो कपाल पाल्न नपाइने भनेर मापदण्ड तोकिदिनुपर्यो । त्यत्तिकै लामो कपाल पाल्नेहरुलाई समाउन पाइन्छ ?’ बाबाजीले टि्वटरमा ठट्टा गर्दै लेख्नुभएको छ-’प्रहरीले किन कपाल पाल्नेलाई समातेको भनी एकजना डीएसपी मित्रलाई सोधेको, हाम्ले जति रहर गरे पनि पाल्न नपाउने कुरा अरुलाई किन पाल्न दिने त रे ।’
 यस्तै दिनेश आचार्यले लेख्नुभएको छ- ‘प्रहरी महाशय, हिजोआजका गुन्डा रफ टफ हैनन्, सुटेटबुटेड हुन्छन् । उनीहरु सडक पेटीमा हैन, चिल्ला कारमा हिँड्छन् ।’ लामो कपाल पाल्ने र कानमा मुन्द्रा लगाउने बिरुद्ध प्रहरीले सोमबारदेखि राजधानीमा कार्वाही अभियान चलाएको छ । तीन दिनमा हजारभन्दा बढीलाई नियन्त्रणमा लिएर कपाल काट्दै र मुन्द्रा फुकाल्दै प्रहरीले अभिभावकको जिम्मा लगाइसकेको छ । युवालाई भद्र बनाउन र उपत्यकामा चोरी, लुटपाट, डकैती र गुन्डागर्दीका घटनामा कमी ल्याउन भन्दै प्रहरीले चलाएको यो अभियानको समर्थनसँगै बढी बिरोध पनि भैरहेको भैरहेको छ । चुल्ठे मुन्द्रेलाई समातेर प्रहरीले राम्रो काम गरेको भन्दै धेरैले प्रशंसा पनि गरेका छन् । प्रहरीले शुरु गरेको यस्तो अभियान सही हो कि गलत ? यस विषयमा समाजिक सञ्जालमा चर्को बहस शुरु भएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger