काठमाडौं– सरकार र निजी क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबीच काठमाडौंदेखि हेटौंडासम्म सुरुङमार्गका रुपमा लोकप्रिय छोटो दूरीको राजमार्ग निर्माण सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ।
दुई दशकयता चर्चामा रहेको सुरुङमार्ग निजी क्षेत्र, सार्वजनिक क्षेत्र, साझेदार र समुदायको ३४ अर्ब लगानीमा निर्माण लक्ष्य राखिएको छ। चार लेनको ५८ किलोमिटर उच्चस्तरीय राजमार्गले हेटौंडालाई एक घन्टा १५ मिनेटमा राजधानीसँग जोड्नेछ। राजमार्ग निर्माण ४ वर्षको अवधि २०१६ डिसेम्बरसम्ममा पूरा गर्ने लक्ष्य छ।
भौतिक योजनामन्त्री छविलाल पन्तले नागरिकसँग कुरा गर्दै सम्झौतामा हस्ताक्षर भएको बताए। निजी क्षेत्रले देशमा पूर्वाधार विकासका लागि निर्माणको दायित्व बोकेको अहिलेसम्मको यो सबैभन्दा ठूलो र एकमात्र आयोजना हो।
जनजिब्रोमा सुरुङमार्ग भनेर चढे पनि यो राजमार्गमा सुरुङको लम्बाइ साढे ३ किलोमिटर मात्र हुनेछ। स्थानीय तहमा वातावरणीय प्रभाव पर्न नदिन अत्याधुनिक प्रविधि प्रयोग गरिने जानकारी कम्पनीले दिएको छ। सुरुङलाई सुरक्षित बनाउन अस्ट्रियाको नया“ प्रविधि अपनाइनेछ। राजमार्ग छोटो, सुरक्षित र आरामदायी बनाउन उपलब्धमध्येकै अत्याधुनिक सडक प्रविधि प्रयोग गरिने र वातावरण बिग्रिन नदिन आउने समस्या सुरुमै निराकरण गरिने जानकारी पनि कम्पनीले दिएको छ।
काठमाडौं–हेटौंडा सुरुङमार्गको लक्ष्य हेटौंडाबाट पश्चिमका क्षेत्रमा चल्ने यातायात सहज, सुगम र व्यवस्थित गर्नु रहेकाले सरकारद्वारा निर्माणाधीन काठमाडौं–निजगढ फास्ट ट्र्याक यसबाट प्रभावित नहुने जानकारी कम्पनीका उपाध्यक्ष तथा विकास रणनीतिकार लालकृष्ण केसीले दिएका छन्।
'फास्ट ट्र्याक बन्नै पर्छ, यसमा कुनै द्विविधा छैन। सुरुङ मार्ग र फास्ट ट्र्याकका बीच कहीँ पनि स्वार्थको टकराहट हु“दैन। फास्ट ट्र्याकले पूर्वी नेपाललाई राजधानीसँग जोड्छ भने हाम्रो लक्ष्य पश्चिममा सेवा विस्तार रहेको छ। हामी फास्ट ट्र्याकलाई सुविधा हुनेगरी सडक निर्माण गर्नेछौं,' केसीले भने।
|