एमाले छाडेका झालाई एमाओवादीद्वारा स्वागत (राजीनामा पत्रसहित)

८ चैत, काठमाडौं । नेकपा एमालेका नेता रामचन्द्र झाले पार्टी परित्याग गर्नुभएको छ । झाले बिहीबार बिहान अध्यक्ष झलनाथ खनाललाई सम्बोधन गरिएको फ्याक्स मुख्यालय बल्खुमा पठाएर पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । एमाले त्यागेका झालाई बिहीबार पेरिसडाँडामा बसेको एमाओवादी बैठकले आफ्नो पार्टीमा स्वागत गर्ने निर्णय गरेको छ । ‘भावनाका आधारमा राजनीति हुँदैन, विचार नमिलेपछि एमालेमा बस्न सकिएन’- नेता झाले भन्नुभयो-’एमालेसँगको मेरो असहमति पहिल्यै बाहिर आइसककेको छ, आज मैले एकपृष्ठमा शिष्ट भाषामा आफ्ना कुराहरु राखेर फ्याक्स पठाएको छु ।’ एमाले परित्यागपछि झाले एमाओवादीमा प्रवेशको तयारी थाल्नुभएको छ । ‘छलफल चलिरहेको छ, उहाँहरुले मलाई कस्तो भुमिका दिनुहुन्छ, त्यसैमा भर पर्छ’- झाले अनलाइनखबरलाई भन्नुभयो- ‘पार्टीमा प्रवेश गर्नुअघि आफ्नो भूमिकाको अपेक्षा गर्नु स्वाभाविकै हो ।’

 यसअघि एमालेबाट असन्तुष्ट अशोक राई समूहमा झा सहभागी हुने चर्चा चले पनि उहाँ संस्थापन पक्षमै रहनुभएको थियो । अशोक राईको संघीय समाजवादीमा नलागेर किन एमाओवादीलाई रोज्नुभएको भन्ने  प्रश्नमा झाले भन्नुभयो-’उहाँहरु माक्र्सवाद लेनिनवादको निर्देशक सिद्धान्तअनुसार निर्देशित हुनुहुन्न ।’ झाले एमालेमा राजीनामा दिएकै दिन एमाओवादी बैठकले उहाँलाई पार्टीमा स्वागत गर्ने निर्णय गरेको छ । बैठकपछि एमाओवादीका मधेस ब्यूरो प्रमुख हरिबोल गजुरेलले  भन्नुभयो- ‘वैठकले उहाँलाई स्वागत गर्ने निर्णय गरेको छ । उहाँले भूमिका खोज्नुभएको छ र हामीले पनि स्थायी समितिसम्म ल्याउन सक्ने सम्भावना छ ।’ माओवादीभित्रका विश्वनाथ साह, प्रभु साह र रामकुमार शर्मा लगायतका मधेसी नेताहरु सहमत नभई झालाई पार्टीमा उच्च भूमिका दिन त्यति सहज भने छैन ।

 एमाओवादी स्रोत अनुसार शुक्रबार धनुषाको धनुषाधाममा एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले छाडेका रामचन्द्र झावीच भेट हुँदैछ । सहीद अजवलाल यादवको शालिक अनावरण कार्यक्रममा प्रचण्ड र झा दुबैले बोल्ने कार्यक्रम छ । झा एमाओवादी प्रवेश गर्ने पक्का भएपनि भोलि कै कार्यक्रममा जने सम्भावना भने कम रहेको नेताहरुले बताएका छन् । झालाई एमाओवादीमा तान्न केही महिनाअघिबाटै भित्री प्रयास हुँदै आएको एमाओवादी नेताले बताएका छन् । ‘गत भदौमा रामवृक्ष यादवको स्मृति सभामा पनि झाले सहभागिता जनाउनुभएको थियो । उहाँसँग ६/७ महिना अघिदेखि नै विभिन्न चरणमा छलफल हुँदै आएको छ ।’- एमाओवादी नेताले बताए । एमालेका पूर्वसभासद् रिजवान अन्सारी यतिबेला अशोक राईको समूहमा लागिसक्नुभएको छ । अर्का प्रभावशाली नेता झाले समेत पार्टी परित्याग गरे पनि आगामी निर्वाचनमा एमालेलाई यसले मनोवैज्ञानिक प्रभाव पार्ने विश्लेषकहरु बताउँछन् । झाको राजीनामा पत्र
 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger