नेकपा माओवादीले वुधबार आह्वान गरेको नेपाल बन्दको प्रभाव नेपाली सिनेमालाई पनि परेको छ । एक दिन बन्द हुँदा हलमा लागेका सिनेमाले नराम्रो घाटा व्यहोर्नु पर्ने हुन्छ । यस्तै छायांकनमा रहेका सिनेमाका निर्माताको पनि लाख घाटामा जान्छ ।वुधबारको बन्दका कारण हलहरु संचालनमा नआउँदा चलचित्र ‘समय’ लाई नराम्रो धक्का लागेको छ । शुक्रबारबाट सोलो प्रदर्शनमा आएको सिनेमालाई बुधबारको बन्दले थला पारेको छ । एक दिन हल बन्द हुँदा निर्माताले लाखौं रुपिया गुमाउनु पर्छ । शुक्रबारबाट नयाँ तिन सिनेमा आउने भएकाले पनि ‘समय’ लाई बन्दका कारण लगानी उठाउन धौ धौ पर्ने देखिएको छ ।
बन्दका कारण छायांकनमा रहेका केही चलचित्रहरु पनि प्रभावित भएका छन् । बसन्त निरौलाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘राजनीति’, ऋषि न्यौपानको निर्देशनमा तयार भइरहेको चलचित्र ‘तनाब’, दयाराम दाहालको निर्देशनमा छायांकन भइरहेको चलचित्र ‘दबाब’ को छायांकन प्रभावित भयो । तर इनडोर छायांकन भइरहेका सिनेमालाई भने खासै फरक परेको देखिएन ।सुनिल रावलको निर्माणमा तयार भइरहेको चलचित्र ‘होस्टेल’, संझना रौनियारको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मेघा’ को छायांकन जारी छ । ‘होस्टेल’ को उपत्यका बाहिर र ‘मेघा’ को काठमाण्डौमा इनडोर छायांकन भइरहेको निर्माणपक्षले जनाएको छ ।
चलचित्रको छायांकन बन्दका कारण रोक्नु पर्दा निर्माताले आफ्नो अनुमानित बजेट बढाउनु पर्ने हुन्छ । तर नेपाली सिनेमाले यस्तो नियती लामो समयदेखि भोग्दै आएका छन् ।
|