काठमाडौं, चैत ८ – वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हिजो फागुनशुक्ल बुधाष्टमीका दिन परम्परागत रूपमा चीरोत्थान(चीर गाडेर) शुभारम्भ गरिएको छ।
आजै काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै ध्वजापताकासहितको चीर गाडी फागुपर्वको सुरुआत गरेका छन्। फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ। यसैगरी ललितपुरमा आजकै दिन चीर गाडिने परम्परा छ।
फागु अर्थात् होलिका दहनका बारेमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगाले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगामा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगाले छुन नसकेको हिन्दू धर्मशास्त्रमा उल्लेख छ। त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ।
यसैगरी द्वापरयुगमा कृष्ण भगवान्लाई मार्न कंसद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्याग्न पुगेकी र निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने प्रथा चलेको जनश्रुति पनि छ। भैषज्यशास्त्रका ज्ञाताका अनुसार राम्रो तरिकाले तयार पारिएका रङ र अबिर छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने र बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व छ।
यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलाका निम्ति गाँजा, भाङ, जाँडरक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति बढेको पाइएको छ। यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा रङ्गिनाका साथै सपरिवार भेला भई तीर हान्ने प्रतियोगिताको आयोजना गर्छन्। सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाएर रमाइलो पनि गर्छन्। फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि विभिन्न तरिकाले मनाउने गरेको पाइन्छ।
|