२५ फागुन, काठमाडौं । हृदयघातका कारण बैंककको समितिभेज अस्पतालमा उपचार गराइरहेका पूर्वयुवराज पारसको उपचार प्रक्रिया लम्बिएको छ ।
स्रोतका अनुसार उहाँको अस्पताल बसाइ कहिलेसम्म हुन्छ भन्ने अस्पताल स्रोतले जानकारी गराएको छैन । तर, केही दिनमै आइसीयूबाट निकाल्ने अस्पतालको तयारी छ ।
‘उहाँ अझै धेरै दिन अस्पतालमा रहनुहुन्छ । तर, केही दिनभित्रै ‘आइसीयू’बाट ‘नर्मल वार्ड’मा सार्ने सम्भावना छ । गत फेब्रुअरी १९ मा हृदयाघात भई अस्पताल भर्ना भएका पूर्व युवराज पारसको १२ दिनपछिमात्रै होस आएको थियो । मार्च २ मा होस आएपछि भेन्टिलेटर हटाएको ४ दिन भइसकेको छ । शुरुमा दिनहँु विज्ञप्ति निकालेर स्वास्थ्य अवस्थाबारे सूचना दिँदै आएको समितिभेज अस्पतालले गत सोमबारदेखि कुनै औपचारिक विज्ञप्ति सार्वजनिक गरेको छैन ।
शाही परिवार बैंककमै
पारसको हेरचाहका लागि बैंकक पुगेको नातेदारहरुको ठूलो टोली असिहलेसम्म नेपाल फर्केको छैन । पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पारस पत्नी हिमानी र तीनजना छोराछोरी बैंककमा छन् । पूर्वराजा र हिमानी बैंकक जानुअघि बहिनी प्रेरणा, दिलासा, शिताष्मा, डा. राजीव र आदर्श राणा बैंकक गएका थिए । स्रोतका अनुसार केही आफन्तजन भने चाँडै नेपाल र्फकने कार्यक्रम छ ।
|