बिहेको इन्गेजमेन्ट भएलगत्तै अस्पतालमा जँचाउन जाँदा स्तन क्यान्सर भएको थाहा पाएपछि ३० वर्षीया अमिता महर्जनका दिनरात तनावमा बिते। तर, चिकित्सकसँगको सरसल्लाहपछि श्रीमान् बुद्धको साथले ढुक्क भएकी महर्जन यतिबेला स्तन क्यान्सरबाट पूर्ण निको भएकोमा मख्ख छिन्। दुई वर्षअघि स्तन क्यान्सरबाट पीडित भएको सुनाउँदा दिक्क मान्ने महर्जन अहिले रोग निको पारेको अनुभव बाँड्दा प्रफुल्ल छिन्। ‘बायाँ स्तनमा सानो गिर्खा आएको थियो,’ महर्जनले दुई वर्षअघिको आफ्नो शारीरिक अवस्था वयान गरिन्, ‘स्तन क्यान्सर होला भन्ने कल्पना पनि गरेकी थिइनँ।ग्रन्थी मिलेर बनेको स्तनमा क्यान्सर हुने क्रम बढेको चिकित्सकहरू बताउँछन्। ग्रन्थी वा दूधको नलीमा क्यान्सर उत्पादन हुने गर्छ।
नेसनल क्यान्सर अस्पतालका निर्देशक एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. एमके पियाका अनुसार ग्रन्थीबाट उत्पन्न हुने क्यान्सरलाई लोवर कार्सिनोमा भनिन्छ। तर, दूधको नलीबाट भएको क्यान्सरलाई मेडिकल भाषामा डक्टल कार्सिनोमा भनिन्छ। स्तनको कुनै भागबाट सुरु भएको क्यान्सर स्तनको चारैतिर फैलन सक्ने डा. पिया बताउँछन्। वंशानुगत कारणबाट पनि हुने भएकाले परिवारका सबै सदस्यलाई स्तन क्यान्सर हुन सक्छ। तीस वर्षपछि बच्चा जन्माउने महिला र लामो समयसम्म बच्चा नजन्माएका महिलालाई पनि स्तन क्यान्सरको खतरा हुने सर्जिकल अन्कोलोजिस्ट डा. कपेन्द्र शेखर अमात्य बताउँछन्। स्तनमा पहिलेदेखि गाँठागुठी भएका महिला, चाँडै महिनावारी सुरु भएको वा ढिला महिनावारी बन्द भएका महिलालाई पनि स्तन क्यान्सरको खतरा हुन्छ। त्यस्तै, अविवाहित प्रौढ महिला तथा धेरै मोटी महिला, चिल्लो तथा बोसोयुक्त खानेकुरा धेरै खाने महिला र सुर्तीजन्य पदार्थको सेवन गर्ने महिलामा पनि स्तन क्यान्सरको खतरा हुने क्यान्सर रोग विशेषज्ञ बताउँछन्।
स्तन क्यान्सरको लक्षणका रूपमा स्तनको आकार परिवर्तन हुने, स्तनमा गिर्खा फेला पर्नेजस्ता लक्षण सुरुमा देखा पर्न सक्छन्।
कहिलेकाहीँ स्तनवरिपरिको छाला परिवर्तन भई चाउरी पर्ने हुन सक्छ। समयमै उपचार नगर्ने हो भने स्तनको मुन्टोबाट रगत पिप मिसिएको दूध आउने र स्तनमा लामो समयमसम्म निको नहुने घाउ हुने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. पियाको कथन छ। स्तनमा गिर्खा भेटिएपछि सर्जन /अन्कोलोजिस्टले स्तनको गिर्खाबाट सानो सुई राखेर केही कोषिका निकालेर वा सानो शल्यक्रिया गरेर त्यसबाट कोष तथा तन्तु निकालेर प्याथोलोजीमा परीक्षणका लागि पठाउँछन्। प्याथोलोजिस्टले परीक्षण गरेपछि मात्र क्यान्सर भए /नभएको थाहा हुन्छ। क्यान्सर भएको प्रमाणित भएपछि सर्जन वा अन्कोलोजिस्टले अन्य जाँचका लागि सल्लाह दिने गर्छन्। समयमा विवाह गरी बच्चा जन्माउने युवतीलाई स्तन क्यान्सरको खतरा न्यून हुने चिकित्सकहरू बताउँछन्।
बच्चालाई स्तनपान नगराउने महिलालाई स्तन क्यान्सरको जोखिम हुने डा. पियाको भनाइ छ। नियमित व्यायाम गरी मोटोपन घटाउने र सुर्तीजन्य पदार्थको सेवन नगर्ने हो भने पनि स्तन क्यान्सरबाट जोगिन सकिन्छ। स्तन क्यान्सरबाट पुरुषहरू पनि पीडित भए पनि महिलालाई बढी सताउने गरेको छ। सुरुकै चरणमा पत्ता लगाउनसके राम्रो उपचार गर्न सकिने क्यान्सर रोग विशेषज्ञ डा. पिया बताउँछन्। नियमित स्तनको जाँच र मेमोग्राम गराउनु नै स्तन क्यान्सरबाट बच्ने उपाय हो। चालिस वर्षमुनिका महिलाले स्तनको अल्ट्रासाउन्ड गराउने र ४० वर्ष नाघेका महिलाले मेमोग्रामबाट परीक्षण गराउनु उपयुक्त हुने डा. पियाको सल्लाह छ। स्तन क्यान्सर पारिवारिक क्यान्सर भएकाले परिवारका सदस्यलाई स्तन क्यान्सर भएको छ भने अन्य सदस्यले पनि परीक्षण गराउनु जरुरी भएको डा. पिया बताउँछन्।
|