२२ फागुन, काठमाडौं । समाजिक सञ्जाल ट्वीटरमा अश्लील र आपत्तिजनक शब्द प्रयोग गरेर मेन्सन गर्न थालेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराई हैरानीमा पर्नुभएको छ ।
केही ट्वीटर प्रयोगकर्ताहरुले भट्टराईलाई मेन्सन गरेर अश्लील र आपत्तिजनक शब्द प्रयोग तथा तस्वीरहरु प्रयोग गर्ने गरेको बताइएको छ ।
मंगलबार ट्वीट गर्दै प्रधानमन्त्री भट्टराईले अश्लील शब्द प्रयोग नगर्न आग्रह समेत गर्नु भएको छ । ट्वीटमा लेखिएको छ-’कृपया अश्लील शव्दको प्रयोग नगरौं । न्यूनतम शिष्टता निर्वाह गरौं ।
मन नपरे वा मन नलागे लेख्ने वा वोल्ने कष्ट नगरौं ।’
प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले प्रधानमन्त्रीको आपत्ति ट्वीटरमा दिइएको प्रतिक्रियाप्रति नभई अश्लील गालीप्रति भएको बताउनु भयो । ‘कतिपय प्रयोगकर्ताले आपत्तिजनक शब्द तथा तश्वीर प्रयोग गरेर प्रधानमन्त्रीलाई मेन्सन गरेका छन्’उहाँले भन्नुभयो-’उहाँको अपत्ति अश्लील गालीमा हो । ट्वीटरमा दिइएको प्रतिक्रियामा होइन् ।’
|