Featured Post Today
print this page
Latest Post

दाइँ गर्न नसक्ने बोकाको के काम: केपी शर्मा ओली


दमक, असोज २१ । नेकपा एमालेका स्थायी समिति सदस्य केपी शर्मा ओलीले पार्टी एकता देख्न नचाहने तत्वले पार्टी भित्रका केही मान्छेलाई उक्साई पार्टी परित्याग गर्न बाध्य बनाएको बताएका छन् । आज बिहान झापाको दमकमा प्रेस चौतारी झापाले गरेको अन्तरकृयामा बोल्दै ओलीले एकीकृत नेकपा माओवादीले एमालेका कर्मठ नेताहरुलाई उक्साएर परित्याग गर्न बाध्य बनाएको बताएका हुन् । उनले एमालेका कारण पहिचान बनाएका नेताहरुले पहिचान खोज्दै हिँड्नु मुर्खता भएको टिप्पणीसमेत गरे ।
ओलीले पार्टीको विभाजन नभइ केहीले परित्याग मात्र गरेको उल्लेख गर्दै एकीकृत नेकपा माओवादीले एमालेभित्र खेल्न खोजेको टिप्पणी गरे ।
सरकार र सत्ताको बलमा अराजकता र भ्रष्टाचारलाई प्रश्रय दिँदै गरेको बाबुराम भट्टराईको सरकार दशैंपछाडि ढल्ने समेत उनले ठोकुवा गरे ।
पत्रकारको एक प्रश्नको जवाफमा ओलीले भने, ‘यदि कसैले तानाशाही लाद्ने सपना देख्छ भने त्यसलाई एमालेले कर्‍याककुरूक पारेर फालिदिनेछ ।’ संविधान बनाउने कुरा र अन्य समस्या समाधान गर्ने कुरामा भट्टराई सरकार असफल रहेको बताउँदै भने, ‘बोका नारेर हेर्दा पनि दाइँ हुन नसकेपछि बोका नारिरहुनुको कुनै अर्थ छै ।’
सहमतिका लागि बारम्बारको पहल हुँदासमेत एकीकृत माओवादी गम्भीर नभएको आरोपसमेत ओलीले लगाए ।
अबको सहमतिको सरकारका लागि नेकपा एमालेले कृयाशिलता देखाएपनि कांग्रेस भित्रको बिवादका कारण एमालेले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आए सरकार राम्रोसँग चलाएर देखाइदिने चुनौती समेत ओलीले दिनुभयो ।
सरकारको नेतृत्वको एकीकृत माओवादी बाहेककको बनाइने बताउँदै उनले त्यसका लागि एमालेले सबै पार्टीसँग समन्वय गर्ने बताए ।
अबको चुनावी सरकारले संविधान सभाको निर्वाचन गर्ने भएका कारण सहमतिविना निर्वाचन हुन नसक्ने उनको भनाइ थियो ।Source:पुर्बेली टाईम्स

७१ लडाकू कमाण्डर आजदेखि नेपाली सेनाका अधिकृतमा नियुक्त


काठमाण्डौ, असोज २१।  दश बर्षसम्म जनयुद्ध लडेका माओवादीका पूर्व लडाकू कमाण्डरहरु आजदेखि औपचारिक रुपमा नेपाली सेनाको भएका छन् । अधिकृतमा छानिएका ७१ लडाकूलाई आज नेपाली सेनाले ४५ दिने घर बिदामा पठाउँदै छ । दशैं-तिहार मनाएर ४५ दिनपछि र्फकने उनीहरु १२ महिने अधिकृत तालिममा सहभागी हुनेछन् । छानिएका ७१ अधिकृतलाई बिशेष समिति सदस्यहरुले शुक्रबार सैनिक आवासीय महाबिद्यालय पुगेर बधाई दिएका थिए । लोक सेवा आयोग र नेपाली सेनाका प्रतिनिधि सम्मिलित छनौट समितिले आजै छानिएका ७१ लडाकूको नामावली प्रकाशन गर्ने छ ।
लडाकूबाट छानिएका अधिकृतहरुले नेपाली सेनाको चेन अफ कमाण्ड अन्र्तगत तालिममा सहभागी हुनेछन भने तालिमपछि नेपाली सेना अन्र्तगत गठन हुने महानिर्देशनालयमा रहने छन् ।लडाकू कमाण्डरहरुको अधिकृतका रुपमा सेनामा प्रवेशसँगै ६ बर्षदेखि जारी शान्ति प्रकृया औपचारिक रुपमा टुंगिएको छ भने २०५२ सालदेखि जारी एक मुलुक दुई सेनाको अबस्था पनि औपचारिकरुपमा अन्त्य भएको छ ।

रेखा थापापछि निस्किइन् ‘शताब्दी’ शब्दको अर्थ नजान्ने अर्की नायिका



नायिका रेखा थापाले एक कार्यक्रममा ’शताब्दी’ भन्ने शब्दको अर्थ नजान्दा चर्को आलोचना भोग्नु परेको थियो । नायक भुवन के.सीलाइ शताब्दि देखि नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउदै आउनु भएको नायक भन्दै चित्रित गरेपछि नायिका थापा को वौद्धिकताको प्रश्न धेरैले उठाएका थिए ।
नायिका रेखा थापापछि अर्की एक नायिका तथा कार्यक्रम संचालिकालाइ पनि ’शताब्दी’ शब्दको अर्थ थाहा नभएको प्रष्ट भएको छ । काठमाण्डौमा सम्पन्न भएको चौधौ इमेज अवार्ड संचालन गर्दै जादा नायिका कृति भट्टराइले शताब्दि भन्ने शब्दको अर्थ नै जानिनन् । अवार्ड प्राप्त गर्ने तथा वितरण गर्ने श्रष्टाहरुलाइ ’शताब्दी’ देखि तपाइहरुले सांगीतीक क्षेत्रमा योगदान पुर्याउदै आउनु भएको छ, भन्दै कृतिले संवोधन गरेकी थिइन् ।
कृति शताब्दि शब्द उच्चारण गरेपछि केही अलमलमा परेकी थिइन् । ४ वटा चलचित्रमा अभिनय गरेर सन्यासको घोषण गरेपछि कृति संचारमाध्यममा नै सक्रिय छिन् ।

दाईले भाईलाई अपहरण गराए अहरित भाईको सकुशल उद्धार



काठमाडौं, २० असोज । काठमाडौंमा दाजु/भाईबीच लेनदेनमा कुरा नमिले पछि दाईले आफ्नै भाईको अहरण गराएका छन् ।
काठमाडौं महानगरपालिका–३५, कोटेश्वरबाट अपहरित किराना व्यवसायी भुवन केसीलाई प्रहरीले सकुशल उद्धार गरेको जनाएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा–७ घर भई हाल काठमाडौं जोरपाटी–४, नारायणटार बस्ने कृष्ण घिसिङको कोठाबाट केसीलाई अपहरण मुक्त गरिएको हो ।
भक्तपुरको गठ्ठाघर बस्ने एलबी मोक्तानलगायतको समूहले १९ वर्षीय केसीलाई अपहरण गरेका हुन् । दोलखा जिल्ला स्थायी घर भएका केसीलाई शुक्रबार बेलुका मोक्तानको समूहले अपहरण गरेको थियो ।
अपहरणमा संलग्न सिन्धुपाल्चोक जिल्ला चौतारा–७ बस्ने ३७ वर्षीय भीमबहादुर तामाङ र कृष्ण घिसिङसहित ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
दाई राजकुमार केसीसँगको लेनदेनको विषयलाई लिएर केसीलाई ट्याक्सीमा जवरजस्ती बसालेर अपहरण गरेको सूचना पाए लगत्तै प्रहरीले खोजतलास गरेको थियो ।

नर्सिङ पढिरहेकी युवती १३ दिनदेखि बेपत्ता


लहान, १९ असोज । सिरहाको धनगढी गाविस–४ शान्तिपुरकी एक दलित युवती विगत तेह्र दिनदेखि बेपत्ता भएकी छिन् । आफ्नी श्रीमती सुष्माकुमारी राम सप्तरीको राजविराजबाट बेपत्ता भएकी भन्दै पति अधिकलाल मोचीले खोजबिनका लागि वडा प्रहरी कार्यालय लहानमा निवेदन दिएका छन्। राजविराजस्थित युनिक एजुकेसनल एकेडेमीमा नर्सिङ सेवातर्फ प्रवीणता प्रमाणपत्र तहको तेस्रो वर्षमा अध्ययन गरिरहेकी करिब २० वर्षीया राम लहान–१ स्थित माइतीमा पूजा छ भन्दै छात्रावासबाट निस्किएपछि बेपत्ता भएकी हुन् । माइतीबाट बाबुले ‘पूजा छ, एक दिनका लागि पठाइदिनु होला’ भन्दै फोन गरेपछि असोज ६ गते छात्रावासबाट पठाइएको भन्ने जानकारी प्राप्त भएको एकेडेमीका प्रिन्सिपललाई उद्धृत गर्दै उनका जेठाजु प्रेम मोचीले बताए।छात्रावासबाट माइत हिँडेकी युवतीलाई सिरहाको रामनगर मिर्चैया–५ का कृपाल महराका २१ वर्षीय छोरा शिवकुमार महराले बेपत्ता बनाएको हुनसक्ने पति अधिकलालले आशङ्का गरेका छन् ।
बेपत्ता युवतीसँग करिब डेढ तोला सुन र रु २२ हजार नगद समेत रहेको बताइएको छ । सुष्माको २०६६ साल  फागुन १४ गते अधिकलालसँग मागी विवाह भएको थियो ।

हरेकवर्ष २० हजार क्यान्सर रोगी नेपालमा थपिदैं



१९ हसोज, काठमाडौ । नेपालमा हरेक वर्ष २० हजार क्यान्सरका नयाँ रोगी थपिने गरेको दाबी गरेका छन् । काठमाडौंमा आज भएको नेपाल क्यान्सर सहयोग समुहको दोस्रो वार्षिक साधारण सभामा नेपालमा ५० हजार क्यान्सर रोगी रहेको र हरेक बर्ष २० हजार नयाँ रोगी थपिने गरेको तथ्यांक प्रस्तुत गरिएको हो ।
कार्यक्रममा उक्त संस्थाका महासचिव सशांक शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा ईमेज च्यानलकी उपाध्यक्ष इन्दिरा मानन्धरले क्यान्सर रोग लाग्दैमा आत्तिईहाल्नु नपर्ने भन्दै सकारात्मक सोच राखेर अघि बढेमा रोगसँग लड्ने आत्मबल आउने अनुभव सुनाएकी थिइन् ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger