२५ बैशाख, काठमाडौं । नेपाल टेलिकमले मोबाइलको गुणस्तरमा सुधार गर्ने भएको छ । मोबाइलको गुणस्तर सुधार गर्न टेलिकमले मंगलबारदेखि सिस्टम अपग्रेडेसनको काम समेत सुरु गरेको छ ।टेलिकमले मंगलबार सिस्टम अपग्रेडेसनका लागि भन्दै सबै मोबाइल सेवा काउन्डरहरु बन्द गरेको जनाएको छ । टेलिकमले सार्वजनिक सुचना तथा म्यासेजमार्फत मंगलबार नेटवर्कमा समस्या देखिएमा मोबाइको स्वीच अफ गरेर अन गर्न सर्वसाधरणलाई आग्रह गरेको छ ।
पछिल्ला दिनहरुमा टेलिकमको मोबाइलमा नेटवर्क समस्या देखिएको भन्दै सर्वसाधरणले चर्को गुनासो गर्दै आएका छन् ।
टेलिकमको एउटा मोबाइलबाट अर्को मोबाइलमा सम्पर्क गर्न ४/५ पटकसम्म डायल गर्नुपर्ने र फोन लागिहाले पनि कुरा प्रष्ट नबुझिने समस्याले गर्दा सर्वसाधरण उपभोक्ता मारमा परेका छन् ।सर्वसाधरणबाट चर्को गुनासो आउन थालेपछि सुचना तथा संचार मन्त्री माधव पौडेलले केही साता अगाडि टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंहलाई गुणस्तमा तत्काल सुधार गर्न निर्देशन दिनुभएको थियो । मोबाइलको सिस्टम अपगे्रडेसन गरेपछि नेटवर्कमा सुधार आउने अपेक्षा टेलिकमले गरेको छ । सोही अनुरुप टेलिकमले मंगलबार डाटा अपडेट गरिरहेको छ ।
निजी क्षेत्रका मोबाइल कम्पनीहरुसँग प्रतिस्पर्धात्मक क्षमता बढाउन टेलिकमले अहिले भएको नेटवर्क समस्या तत्काल हल गर्नुपर्ने सर्वसाधरण बताउँछन् । पछिल्लो समय नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिन थालेपछि निजी कम्पनीका मोबाइल प्रयोग गर्नेहरुको संख्या बढ्दै गएको छ । धेरै जसोले दुईवटा सिम प्रयोगमा ल्याउन थालेका छन् ।
सिस्टम अपग्रेडेसनको काम सकिएपछि उपभोक्ताहरुले सुधारको अनुभव गर्न पाउने टेलिकमको दाबि छ । सिस्टम अपग्रेडेसनको काम सकेर छिटोभन्दा छिटो मोबाइल प्रयोगकर्ताहरुलाई राहत दिने लक्ष्य रहेको टेलिकमले जनाएको छ ।
टेलिकमले गुणस्तरमा सुधार गरेर १ करोड मोबाइल थप्ने तयारी गरिरहेको छ ।
पछिल्लो समय निजी क्षेत्रका मोबाइल कम्पनीहरुबाट दबाबको महशुस गर्दै आएको टेलिकमले उनीहरुसँग प्रतिस्पर्धा गर्न महत्वाकांक्षी प्रोजेक्ट सम्पन्न गर्दैछ । १ करोड मोबाइल बितरण गर्ने उक्त प्रोजेक्ट १५ अर्ब रुपैयाँ बराबरको लागतमा सम्पन्न हुने बताइएको छ । यो प्रोजेक्ट टेलिकम सेवाको इतिहासमा सबैभन्दा ठूलो परियोजना हो ।
परियोजना अन्र्तगत हुवावेले १ करोड लाइन जीएसएम मोबाइलको टेन्डर प्राप्त गरेको छ । नयाँ टेन्डर हुवावेले पाएपछि टेलिकमको देशभरको नेटवर्क व्यवस्थापन समेत हुवावेलाई सुम्पिएको छ । हुवावेले अहिले नेटवर्क विस्तारका लागि उपकरण जडान कार्य जारि राखेको छ ।न्यूनतम आवश्यकताको वस्तु बनिसकेको मोबाइलमा एक दिनमात्र समस्या देखियो भने त्यसले ठूलो हानी पुर्याउँछ । पछिल्लो समय अधिकांश कामहरु मोबाइलबाट सम्पन्न गर्ने परिपाटी बस्दै गइरहेको बेलामा टेलिकमको नेटवर्कमा समस्या देखिँदा लाखौं उपभोक्ता मारमा परिरहेका छन् ।
|