चलचित्र ‘नोटबुक’ मा समावेश ‘गाला रात्तै’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । चैत्र ३० गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाले राम्रो व्यापार गर्नेमा धेरै चलचित्रकर्मी विश्वस्त छन् । चलचित्र प्रदर्शन अगावै चर्चामा आउनुको पछाडी यसमा समावेश ‘गाला रात्तै’ बोलको गीतको महत्वपुर्ण भुमिका छ ।‘नोटबुक’ का गीतसंगीतकै कारण चलचित्र ‘हमेशा’ अप्ठ्यारोमा परेको विश्लेषण पनि गर्न थालिएको छ ।
‘नोटबुक’ को तुलानामा ‘हमेशा’ का गीतहरु कमोजर देखिएको चर्चा बजारमा चल्न थालेको छ । ‘नोटबुक’ मा समावेश ‘गाला रात्तै’ बोलको गीतलाई गीतकार राजेन्द्र थापाले लेखेका हुन् । तर अहिले पनि राजेन्द्र यसमा समावेश केही शब्दमा खुशी छैनन् । संगीतकार वसन्त सापकोटा भन्छन्, ‘राजेन्द्र सरले ‘वैशले हो की लाजले हो की दिलको थप्पडले’ भन्ने शब्द लेख्नु भएको थियो । तर मैले यसलाई परिवर्तन गरी ‘बैशले हो की लाजले हो की यो कान्छी को गाला रात्तै’ बनाएर उहाँलाई सुनाए । मेरो कुरामा उहाँ अहिले पनि सन्तुष्ट देखिनुहुन्न ।
गीतकार राजेन्द्र थापाले लेखेको गीतलाई वसन्तले पहिले नै कम्पोज गरिसकेका थिए । निर्देशक योगेश घिमिरेलाई सुनाएपछि उनी पनि मख्ख परे । तर योगेशले निर्मात्री प्रज्ञा जोशीलाई सुनाउँदा जोशी खासै सन्तुष्ट भइनन् । प्रज्ञालाई लागेको थियो यो गीत सिम्पल सिम्पलको स्टाइलमा गयो । तर वसन्त अहिले संझदै भन्छन्, ‘प्रज्ञा जीलाई मैले संझाएपछि उहाँ पनि सन्तुष्ट हुनुभयो, जुन गीत अहिले चलेकोमा खुशी छु ।’
वसन्तले ‘गाला रात्तै’ बोलको गीतको शब्दको स्थायीमा केही खेलेका छन्, तर अन्तरामा भने राजेन्द्रले लेखेका नै शब्द प्रयोग भएका छन् ।
रोचक कुरा त के पनि छ भने, ‘नोटबुक’ सँगै जुध्न आउने तयारीमा रहेको छवि ओझाको ‘हमेशा’ का लागि पनि वसन्तले २ वटा गीत कम्पोज गरिसकेका थिए । तर ‘अन्दाज’ सिनेमाको ‘सिम्पल सिम्पल ‘बोलको गीतको रोयल्टीको बिषयमा छवि र वसन्त बिच केही असमझदारी पैदा भएको थियो । यसैले गर्दा ‘हमेशा’ मा बसन्तको ठाउँमा रेखा पौडेल आएकी थिइन् । तर बजारमा ‘हमेशा’ को गीतसंगीतलाई ‘नोटबुक’को गीतले तल पारिदिएको छ ।
एउटा राम्रो गीत तयार हुनमा धेरै नै संघर्ष गर्नुपर्दछ । तर त्यही संघर्षको फल मिठो हुँदो रहेछ, ‘गाला रात्तै’ हिट भएपछि वसन्त यसै भन्न थालेका छन् । जीवन लुइटेल, निता ढुंगाना, सेन सापकोटा अभिनित चलचित्र ‘नोटबुक’ चैत्र ३० गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा समावेश ‘मायाको भुलभुलैया’ बोलको गीत पनि अहिले दर्शक तथा श्रोताको नजरमा परेको छ । यसैले पनि नयाँ बर्षको शुभारम्भ ‘हमेशा’को तुलानमा ‘नोटबुक’ का लागि सुखद हुने चलचित्र पण्डितहरुको विश्लेषण छ ।
|