२६ चैत, काठमाण्डौं । अन्तरिम चुनावी मन्त्रिपरिषदले निजामति कर्मचारीको सेवा सुविधामा उल्लेख्य वृद्धि गर्ने योजना अघि बढाएको छ । चैत मसान्तभित्र ल्याउन लागिएको बजेटमार्फत कर्मचारीको सेवा सुविधामा उल्लेख्य वृद्धि गर्ने योजना सरकारले बनाएको हो ।

विगतमा राजनीतिक असहमतिका कारण पूर्ण बजेट ल्याउन नसकेको कारण देखाई प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वका गठन भएको सरकारले आफ्नो पहिलो महिनामै बजेट ल्याउन लागेको हो । सोही आधारमा अर्थ मन्त्रालयमा अहिले बजेट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ‘बजेट निर्माण कार्य लगभग अन्तिम चरणमा पुगिसकेको छ, चैत मसान्तभित्रै आउँछ,’ अर्थसचिव शान्तराज सुवेदीले भने ।
बजेटमा राजस्वको दरमा हेरफेर नगरिने तथा एकसय २० अर्बको वैदेशिक सहायता लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ । साथै विकास खर्चका लागि करिब ७० अर्ब रकम विनियोजन गरिनेछ ।
|