१० बैशाख, काठमाडौं । ‘सिरियल किलर’, ‘विकिनी किलर’ जस्ता नामले चिनिने फ्रान्सेली अपराधी चार्ल्स सोभराजमाथि अन्ततः फिल्म बन्ने भएको छ ।
एक अमेरिकी नागरिकको हत्या अभियोगमा हाल काठमाण्डौस्थित केन्द्रीय कारागारमा रहेका उनको जीवनीमाथि फिल्म बन्न लागेको दि इण्डियन एक्सप्रेसले जनाएको छ ।
सोभराजको जीवनीबारे भारतीय लेखक फाहरुख धुन्दीले लेखेको पुस्तक ‘द बिकिनी मर्डर’को कपीराइट एक बलिउड फिल्म निर्माता कम्पनीले किनेपछि उनीमाथि फिल्म बन्ने पक्का भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन । सो पुस्तकको सर्वाधिकार फिल्म निर्माता कम्पनी डीएआर मोसन पिक्चर्सले हालै खरिद गरेको छ । यो कम्पनीले यसअघि डेन्जरस इस्क, हण्टेड थ्रीडी लगायतका फिल्म बनाइसकेको छ ।
यसअघि सोभराजमाथि बनाउन लागिएको फिल्ममा उनका वकिलहरुले आपत्ति जनाएपछि रोकिएको थियो । नयाँ कम्पनीले सर्वाधिकार खरिद गरेपछि यसको निर्माण सुरु हुने अनुमान गरिएको छ । सर्वाधिकार खरिद गरेको जानकारी दिएको कम्पनीले निर्माण कहिलेदेखि सुरु हुने भन्ने खुलाएको छैन् ।
|