सगरमाथाको फेदीमा चिनियाँ रेल,काठमाडौं जोड्न ‘कठिन छैन

 बेइजिङ, फागुन ३० – काठमाडौं जोड्ने आकांक्षा राखिएको चीनको तिब्बत रेलमार्ग यसै वर्ष सगरमाथाको उत्तर फेदी सिगात्से आइपुग्ने भएको छ। तिब्बत स्वायत्त प्रदेशका सरकारप्रमुख लोसाङ जामकनले निर्धारित अवधिअघि नै ल्हासा-सिगात्से रेलमार्ग निर्माण भइसक्ने जानकारी दिए। उनले सन् २०१४ को सुरुमै रेल सञ्चालनमा आउने दाबी पनि गरे। डेढ महिनाअघि तिब्बत सरकारप्रमुखको रुपमा पद्म छोलिङको उत्तराधिकार लिएका लोसाङले बेइजिङमा गत मंगलबारदेखि चलिरहेको चिनियाँ राष्ट्रिय जनकँग्रेस-व्यवस्थापिका बैठकमा बोल्दै चीनको एक महŒवाकांक्षी रणनीतिक परियोजना मानिएको यो रेलमार्ग निर्माण कार्य पूरा हुन लागेको जानकारी दिएका थिए।

 कँग्रेसको समूह छलफलमा बोल्ने क्रममा लोसाङले भने, ‘ल्हासा-सिगात्से रेलमार्ग यो वर्ष (२०१३) को अन्त्यमा निर्माण पुरा भएर अर्को वर्षको सुरुबाटै सञ्चालनमा आउने विश्वास छ।’ २ सय ५३ किलोमिटर दूरीको ल्हासा-सिगात्से रेलमार्ग २०११ मा लागू चीनको बाह्रौँ पञ्चवर्षीय योजनाअन्तर्गतको महŒवाकांक्षी परियोजनामध्ये पर्छ। २०१० सेप्टेम्बरमा सुरु भएको करिब २.१ अर्ब अमेरिकी डलर लागतको यस योजना २०१५ मा सम्पन्न गर्ने लक्ष्य थियो। यार्लुङ जाङ्बो नदीको ९० किलोमिटर खोंच पार गरी तिब्बतको दोस्रो ठूलो शहर सिगात्से आइपुग्ने रेलमार्गले त्यस क्षेत्रमा पर्यटन र व्यापार वृद्धि गर्ने विश्वास छ। गत वर्ष एक करोड १० लाख पर्यटक भिœयाएर २.१ अर्ब अमेरिकी डलर राजस्व उठाएको तिब्बतले यसमा अझै वृद्धि गर्ने कार्यक्रम ल्याएको छ। ल्हासा-सिगात्से खण्ड तिब्बतलाई राजधानी बेइजिङसँग जोड्ने चिङ्हाई-तिब्बत रेलमार्गको पहिलो विस्तार हो। नेपाल, भारत र भुटानसँग जोडिएको सिगात्सेबाट यसलाई केही वर्षमा रसुवागढीनजिक विकास भइरहेको व्यापारिक शहर केरुङसम्म ल्याई त्यहाँबाट काठमाडौं जोड्ने बेइजिङको योजना छ। ल्हासाबाट दक्षिणपूर्व न्याङ्चीसम्म विस्तार हुने अर्को खण्डले भारतको सीमा छुन्छ।

 दक्षिणपूर्वी एसियालाई रेलमार्गले जोडिसकेको चीनले यो भौतिक निर्माणलाई दक्षिण एसियासँग सम्बन्ध विकास गर्ने मुख्य आधार मानेको छ। चीन सरकारले सञ्चालन गरेको चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सिआइसिआइआर) का दक्षिण तथा दक्षिणपूर्वी एसिया निर्देशक हु सिसेङका अनुसार दक्षिणपूर्वी चीनको युनान प्रान्तदेखि पश्चिमको सिन्ज्याङसम्मको सीमा क्षेत्रमा २०२० सम्म रेल र सडकमार्ग जोड्ने बेइजिङको योजना छ। हुले पहिलेको योजनामा केही संशोधन भएको संकेत गर्दै चीन-नेपाल सडकमार्ग फराकिलो पारेपछि नेपालसम्म रेलमार्ग जोडिने उल्लेख गर्दै भने, ‘सीमा क्षेत्रमा रेलमार्ग निर्माण गरेपछि यसलाई नेपालसहितका छिमेकी देशसँग जोड्ने योजना छ।’ चीन र नेपालबीच केही वर्षभित्र हुने भौतिक सम्पर्कको विकासले भारतलाई समेत यस्तो रणनीतिक फाइदाको योजनातर्फ आकर्षित गर्ने दाबी हुको छ। 

उनले चीन-दक्षिण एसिया सम्बन्धमा यसले ठूलो प्रभाव पार्ने विश्लेषण पनि गरे। हिमालय क्षेत्रको जटिल भूगोलकै कारण योजना नरोकिने संकेत गर्दै हुले भने, ‘रेलमार्ग काठमाडौं जोड्नेबारे स्थलगत परीक्षण अध्ययन गरेर हेर्दा भौगोलिक र प्राविधिक रुपमा यो त्यत्ति कठिन देखिएको छैन।’
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger