विष र पासोले नथाम्ने मुसालाई परिवारनियोजन

१९ पुस, काठमाडौं । धान-मकै राखेको चोटाकोठामा हेर्न गयो, जताततै लिंडैलिंड । जतन गरेर राखेको अन्न छरेर, भकारी दूलो पारेर अनि काठको ढक्कनसमेत फोरेर बिगार गरेको दृश्य जतात्यतै देख्न पाइन्छ । मुसो मार्न चाल मारेर गयो, कुनामा लुकेर बसेको मुसो पुलुक्क हेर्छ र खुरुरुरुरु कुदेर कुनाकाप्चातिर पस्छ । तर, अब चिन्ता नगर्नाेस्, तपाईलाई दुःख दिने मुसाको परिवारनियोजन हुनेवाला छ । घरको चोटाकोठा मात्रै होइन, खेतबारीमा पनि मुसाकै रजाईं हुन्छ । कान्ला, कुनामा दूलो बनाएर मुसाले अन्न थुपार्ने घर नै बनाउँछ । गाउँठाउँतिर उखान नै छ-मंसिरमा धान भित्र्याउनकै लागि मुसाले सातवटी बिहे गर्छ र अन्न भित्र्याएपछि सबैलाई खेदेर एक्लै खान्छ । मुसाको यो हैरानी र बयान गाउँठाउँमा मात्रै होइन, शहरबजारका बासिन्दाले पनि देखेभोगेका छन् । टेलिफोन र बिजुलीको तार काटेर, लुगाफाटा र काठ बिगारेर, खानेकुरा खाएर मुसाले सबैलाई वाक्कदिक्क बनाएको हुन्छ । मुसाको हैरानी र दिक्दारी नभोग्ने मान्छे कम मात्रै होलान् । अन्नपातको भण्डार मात्र हो र, लुगाफाटा र काठको दराजमा समेत मुसाले उसैगरी दिक्क बनाएको हुन्छ । खानेकुरा त खायो-खायो, खाँदै नखाने लुगा र काठपात पनि प्वाल पारेर, चिथोरेर हैरान बनाउँछ- मुसाले । टीनको छानो भएको घर छ भने त राति यता र उता गुरुरु कुद्ने मुसाले लौ चोर नै आएछ भन्ने पारामा तर्साउँछ ।
 मान्छेभन्दा बाठा
जताततै हैरान गर्ने मुसा मार्न मान्छेले केमात्र गरेको छैन । मुसा मार्न विष, साँचो, खोर, लिसो जस्ता प्रविधिको प्रयोग धेरै पहिलेदेखि नै हुँदै आएको छ । तर, यो प्रविधि बिरलै मात्र सफल हुन्छ । कहिले विष राखेको भन्दा छेउको शुद्ध खानेकुरा मात्रै खाएर मुसा हिँड्छ । कहिले पासो थापेको साँचो नै थापेर बेपत्ता हुन्छ । कहिले खोरभित्रको खानेकुरा मात्रै खाएको, तर खोरमा नपरेको हुन्छ । कहिले टाँसिने पदार्थ नै भूईंभरि लत्पत्याएर मुसा आफ्नो बिगार गर्ने काम फत्ते गरेर टाप ठोक्छ । ‘मुसा मार्ने यस्ता प्रविधि त्यति प्रभावकारी हुन छाडेको छ’ नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गतको किट विज्ञान महाशाखाका बरिष्ठ बैज्ञानिक पूर्णदास धौवजीले भन्नुभयो-’हिजोआज मुसा मान्छेभन्दा पनि बाठो भएको छ । त्यसैले जति प्रयास गरेपनि मुसा नियन्त्रण हुन सकेको छैन ।’
अब मुसाको परिवार नियोजन
 विष र पासोलाई जित्न थालेको मुसालाई तह लाउन कृषि वैज्ञानिकहरुले नौलो प्रविधिको अध्ययन थालेका छन् । नार्कको किट विज्ञान महशाखाका वैज्ञानिकहरुले चार वर्षदेखि यसको अनुसन्धान गरिरहेका छन् । मुसाको सन्तान जन्माउन सक्ने क्षमता नै नास गर्ने अर्थात् परिवार नियोजन गर्ने यो प्रविधि अब छिट्टै प्रयोगमा आउने विज्ञहरुको विश्वास छ । ‘हामीले प्रयोगशाला परीक्षण सकेका छौं, अब फिल्डमा एक डेढवर्षसम्म अध्ययन सकेपछि प्रयोगमा ल्याउने तयारीमा छौं’ मुसाको परिवारनियोजन गर्ने अनुसन्धानको नेतृत्व गरेका बैज्ञानिक पूर्णदास धौवजीले अनलाइनखबरसँग भन्नुभयो । रुपन्देही भैरहवामा रहेको नार्कको गहुँबाली अनुसन्धान कार्यक्रमको ६५ हेक्टर जमिनमा २० वटा मुसाको प्वाल छानेर परीक्षण थालिएको छ । यसवर्ष २० जोडी मुसामा परीक्षण गरिएको छ । ‘परीक्षणमा मुसाले सन्तान जन्माउन सकेन भने प्रमाणित भयो भने यसलाई सफल भएको मानिन्छ’ धौवजीले भन्नुभयो-’प्रयोगशाला परीक्षण सफल भएको फिल्ड परीक्षण सफल हुन्छ भने विश्वास छ ।’
 सन्तान रोक्ने औषधि
 नार्कको कीट विज्ञान महाशाखाले लामो अनुसन्धानपछि मुसाको सन्तान उत्पादन दर रोक्ने औषधि पत्ता लगाएको छ । सलिफा (सरिफा) को दाना, निमको बीउ र तेल प्रयोग गरेर औषधि खुवाएका मुसाले बच्चा जन्माउन नसक्ने तथ्य प्रगोशालाबाट प्रमाणित भएको छ । यसअघि वैज्ञानिकहरुले निमको बीउ, अँडेर र मरटी नामक वनस्पतिबाट परीक्षण गरेका थिए । तर, यो अस्थायी परिवारनियोजन गर्ने औषधिको रहेको पछि मात्र थाहा भयो । त्यसैले वैज्ञानिकहरुले स्थायी साधनका रुपमा काम गर्ने सलिफाको दाना, निमको बीउ र तेल पत्ता लगाएका हुन् । वैज्ञानिकहरुका अनुसार लगातार एक महिना सलिफा र निमको बियाँको धूलो र तेलबाट बन्ने दाना खाने मुसाले बच्चा जन्माउन छाड्छन् ।
 बच्चा जन्माएको चार घण्टामै ‘सेक्स’
 मंसिरमा धान भित्र्याउन एउटा भाले मुसाले सातवटीसम्म पोथी खोज्ने गरेको त कहानी नै छ । त्यति मात्र होइन, बच्चा जन्माउन पनि मुसालाई अरु प्राणीले सितिमिति भेट्दैनन् । बैज्ञानिकहरुका अनुसार जन्मेको तीन महिनामै मुसा वयस्क हुन्छन् । बच्चा जन्माएको ४ घण्टापछि नै भाले लाग्न तयार हुन्छन् । भाले लागेको वयस्क मुसाले तीन हप्तामा बच्चा जन्माउँछ । एकैपटक चारदेखि डेढ दर्जनवटासम्म बच्चा जन्माउने क्षमता मुसाको हुन्छ । यस्तै एक जोडी मुसाले एक वर्षमा दुईहजार सन्तान बृद्धि गर्छ । संसारभर झण्डै दुईहजार प्रजातिका मुसा रहेकोमा नेपालमा ४५ थरि मुसाले अन्नपात खाने गर्छन् । किसानले मंसिरमा धान भित्र्याउने बेला मुसाले पनि पछिसम्मलाई पुग्ने गरी त्यही धान दूलोभित्र भण्डार गर्ने गर्छ । यही धान थुपार्न खेताला बढी चाहिने भएकाले मंसिरमा भाले मुसाले सातवटीसम्म पोथी थुपार्ने गरेको मानिसहरु बताउँछन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger