२३ असोज, काठमाडौं । भ्रष्टाचारको आरोप लागेपछि फरार रहेका धनुषाका पूर्व जिल्ला शिक्षा अधिकारी डा. योगेन्द्र ठाकुर पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले लुकिछिपी बसेको अवस्थामा भक्तपुरको सानो ठिमीबाट सोमबार उनलाई पक्राउ गरेको हो । भ्रष्टाचारको अभियोगमा सर्वोच्च अदालतले तीन वर्षअघि २०६६ भदौ ३० गते उनलाई ३८ लाख २ हजार जरीवाना र ४ वर्ष कैदको फैसला गरेको थियो ।
ठाकुरले धनुषाको जिल्ला शिक्षा अधिकारीको रुपमा कार्यरत रहँदा जनकपुर टेक्निकल इन्स्टिच्युट नामक संस्थाको नामबाट सरकारी अनुदान, बिभिन्न मावि तथा निमावि शिक्षकहरुको तलब भत्ता वापतको बजेट सापटीका नाममा आफैंले प्राप्त गरि भ्रष्टाचार गरेको अदालतबाट ठहर भएको थियो ।
सिरहा लहान नगरपालिका स्थायी घर भै हाल काठमाडौं बल्खु बस्ने ठाकुर लोकतान्त्रिक जनता पार्टी नेपाल सिरहाका सभापति समेत रहेको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ । via-onlinekhabar
|