कालिका भगवती मन्दिरमा पूजाआजा गरेर फर्किँदै पूर्वराजा।


दिलीप पौडेल, बाग्लुङ, असोज ६- धार्मिक भ्रमणका लागि बाग्लुङ आएका पूर्व राजा ज्ञानेन्द्र शाहले अहिले मुलुकको राजनीतिक अवस्था चित्त बुझ्दो नभएको बताएका छन्। कालिका भगवती मन्दिरको दर्शन गर्न यहाँ आएका शाहले भेटेका सबै दाजुभाई, दिदीबहिनी हालको राजनीतिक संक्रमणप्रति चिन्तित रहेको बताए। होटल पिस प्यालेसमा सञ्चारकर्मीसँगको संक्षिप्त भेटघाटमा उनले भने, ' देशको परिस्थति सबैलाई चित्त बुझेको छैन।' 'देशको परिस्थितिबारे तपाईँहरुलाई पनि थाहै छ।

उनले आफ्नो भ्रमण धार्मिम भएको स्पष्ट पारे। 'म अहिले धार्मिक उद्देश्‍यले देश दौडाहामा निस्केको छु। तर, देशमा राम्रो नभएको सबैले गुनासो सुनाए।' पूर्व राजा शाहले यहाँका उद्योगी व्यापारी, राप्रपा नेपालका नेता तथा कार्यकर्तासँग भेटघाटसमेत गरे। भेटघाटमा सबैले मुलुकमा शान्ति नभएको भन्दै पूर्व राजालाई अग्रसर हुन आग्रह गरेका थिए। शाह यहाँ भेटघाट गरेर पर्वत फर्किएको स्वागत समितिका संयोजक सुरेन्द्र खड्काले बताए।

उनले पर्वतमा रहेको गुप्तेश्वर गुफा, गायत्री मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको खड्काले बताए। शाह आजै पोखरा फर्किने कार्यक्रम छ। यहाँका प्रमुख दलले प्रतिकार गर्ने भने पनि कुनै अवरोध गरेनन्।

पूर्वराजा ज्ञानेन्द्रको बाग्लुङमा जयजयकार
पूर्वराजा ज्ञानेन्द शाहले बाग्लुङको कालिका भगवती मन्दिरको दर्शन गरेका छन्। पोखराबाट आफैं सवारी चलाएर यहाँ आइपुगेका शाहले मध्यान्ह १२ बजे कालिका भगवती मन्दिरको दर्शन गरेका हुन्। पोखराबाट स्थलमार्ग हुँदै आएका शाहलाई करिब तीन सय मोटरसाइकलले स्कटिङ गरेर ल्याएका थिए।
शाह कालिका मन्दिरमा प्रवेश गर्दा हजारौंको संख्यामा राप्रापा नेपालका नेता-कार्यकर्ता र सर्वसाधारणले राजालाई फूलमालाले स्वागत गरेका थिए। सो अवसर शाहको पक्षमा नाराबाजी गर्दै जयजयकार गरेका थिए। कार्यक्रममा केही अन्य दलका कार्यकर्तासमेत स्वागतमा खटिएका देखिन्थे।

पूर्व राजाले मन्दिरमा पूजा-अर्चना गर्ने क्रममा सर्वसाधरणको पूजाआजा केही बेरका लागि रोकिएको थियो। मन्दिरमा पूजा गरेपछि शाह बाग्लुङको जिल्ला विकास चोकसम्म सवारीमा आएर त्यहाँबाट स्थानीयले प्रदान गरेको फूलमाला ग्रहण गर्दै होटल पिस प्यालेस होटलमा पुगेका छन्। उनको स्वागतका लागि पञ्चे बाजा बजाइएको थियो। बागलुङ बजारको जिविस चोकदेखि होटल पिस प्यालेसम्म अधिकांशले घर अगाडि पानीको घडा र फूल राखेर स्वागत गरेका थिए।
उनले होटल पिस प्यालेसमा खाना खाने र यहाँ स्थानीयसँग भेटघाट गरी पर्वत जाने कार्यक्रम रहेको स्वागत समितिका संयोजक सुरेन्द्र खड्काले बताए। शाहले आजै पर्वतका गुप्तेश्वर गुफा र गायत्री मन्दिरको दर्शन गर्ने कार्यक्रम छ।

Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger