७४ बर्षे सिगंराम चेपाङले भने-’भोटको होइन, भत्ताको कुरा गर’
१५ चैत, चितवन । लौरो टेक्दै आएर थचक्क बसेका वृद्धले पुरानो ज्याकेटको खल्तीबाट प्लास्टिकको सानो पोको निकाले । पोको फुकाउँदै जाँदा चारपत्र पारेर पट्याइराखेको नागरिकता प्रमाणपत्र निस्कियो । धुवाँले घुर्मैलो नागरिकता अक्षर चिन्नसमेत अप्ठेरो हुने अवस्थामा छ । त्यो नागरिकता देखाउँदै उनले भने, ‘मैले भत्ता पाउनुपर्यो ।’
फोटो खिचाउन छुटेका मतलाताको घरमा पुगेका बेला चितवन जिल्ला निर्वाचन कार्यालयका प्राविधिक गोविन्द खनालले भोगेको यथार्थ हो यो । जिल्लाको विकट क्षेत्र लोथर गाविसको वडा नम्बर ९ कान्दा गाउँमा भोट खसाल्न फोटो खिचाउने उद्देश्यले भन्दा जिल्लाबाट मान्छे आएका बेला बृद्ध भत्ता पाइन्छ कि भन्ने आशले आएका थिए स्थानीय सिंगराम चेपाङ ।
सिंगराम प्रजा १९९५ सालमा जन्मेका थिए । गाउँमा नै टोली आएका बेला उनले २०४६ सालमा नागरिकता बनाएका थिए । नागरिकता बनाएको बर्ष उनी ५१ ब्र्षका थिए । नागरिकता दिने अधिकारीले जन्म मितिका ठाउँमा बर्ष लेखिदिएको छ । तर ५१ हो या ३१ छुट्टयाउन नमिल्ने गरेर उमेर उल्लेख गरेपछि उनी भत्ता पाउनबाट बञ्चित भएको खबर नागरिक दैनिकले छापेको छ ।
सरकारले ७० बर्ष नाघेका नागरिकलाई महिनाको पाँचसय रुपैयाँ भत्ता दिने व्यवस्था गरेको छ । जन्मका आधारमा सिंगराम चार बर्षअघि नै ७० पुगिसकेका छन् । तर, नागरिकतामा लेख्नेले शुद्ध नलेखिदिँदा उनी हण्डर बेहोर्न बाध्य छन् । उनकी श्रीमती सुकमायाको मृत्यु भइसकेको छ । सिंगरामका अनुसार तीन बर्षसम्म भक्ता बुझेपछि सुकमायाको मृत्यु भएको थियो ।
|