१९ चैत, काठमाण्डौं । राष्ट्रिय परिचयपत्र (एनआइडी) निर्माण प्रक्रियामा कुनै अवरोध नआए एक बर्षभित्र नेपाली नागरिकले जुनसुकै जिल्लाबाट मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) लिन सक्नेछन् । जहाँ जन्मिएका भए पनि नेपाली नगारिकले राष्ट्रिय परिचयपत्रको आधारमा जुनसुकै जिल्लाबाट एमआरपी लिन पाउनेछन् ।
अहिले ‘द्रुत सेवा’ (१० हजार रुपैयाँ तिरेर) बाहेक नागरिकता जारी भएको जिल्लाबाट मात्र सेवाग्राहीले एमआरपी लिन पाउने व्यवस्था छ । एनआइडीका आधारमा एमआरपी वितरण थालेपछि सेवाग्राहीले अहिले कायम रहेको कागजात प्रमाणीकरण गर्ने झन्झटबाट पनि मुक्ति पाउनेछन् । द्रुत सेवा अन्तर्गत एमआरपीका लागि आवेदन बुझाउन पनि अहिलेजस्तो नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको राहदानी विभाग धाइरहनु पर्ने छैन् ।
‘सन २०१४ फेब्रुअरी (२०७० फागुन १६) भित्र राष्ट्रिय परिचयपत्र जारी गर्ने हाम्रो योजना छ ।
परिचयपत्र जारी भएपछि अहिलेको नागरिकता विस्थापित हुन्छ,’ गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक तुलसीप्रसाद गौतमले भनेको नागरिक दैनिकमा खबर छ । गौतमका अनुसार निर्वाचन आयोगले अहिले फोटोसहितको मतदाता परिचयपत्रका लागि संकलन गरेको तथ्यांक केन्द्रले लिनेछ । आयोगले हालसम्म एक करोड ११ लाख नेपालीको तथ्यांक संकलन गरिसकेको उनले जानकारी दिएका छन् ।
|