१५ माघ, कावासोती । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाओवादीले १० वर्ष सत्ता चलाउने दाबी गर्नुभएको छ । एमाओवादी नवलपरासीको दोस्रो जिल्ला अधिवेशनको सोमबार उद्घाटन गर्दै उहाँले आन्दोलन गरे पनि चुनावमा गए पनि विपक्षी दलले सत्ता पाउन नसक्ने बताउनुभयो । “सत्ताका लागि जनताको मन बुझ्न सक्नुपर्यो, एक दुई सयले चिच्याएर वा लुकेर ढुङ्गा हानेर सरकार पाइन्न ।” उहाँले भन्नुभयो, “जनताको फैसला मान्न आएका हौं ।
काँग्रेस र एमाले मान्न आएका होइनौं, निर्वाचनमा जाऔं, त्यसमै फैसला हुन्छ ।” आगामी जेठमा निर्वाचन गर्न आफूहरु तयार रहेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा एमाओवादी उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्ता लिन विपक्षलाई चुनावमा जान चुनौती दिनुभयो । सरकारले दण्डहीनतालाई प्रश्रय दिएको भन्दै नेपाल पत्रकार महासङ्घ नवलपरासीको निर्देशनमा पत्रकारहरुले प्रधानमन्त्री डा भट्टराई बोल्ने कार्यक्रम बहिष्कार गरेका थिए । रासस
|