साउदीमा कालोसूचीमा परेका कम्पनीमा कार्यरत नेपाली अलपत्र


काठमाडौ, जेष्ठ ७ -

साउदी अरबले रेड जोन (कालोसूची) मा राखेका कम्पनीमा कार्यरत नेपाली कामदारले तलब नपाउने भएका छन् । साथै ती कामदारले घर फिर्नसमेत पाएका छैनन् ।

साउदी सरकारले आफ्नो नीतिलाई कार्यान्वयन नगर्ने कम्पनीलाई कालोसूचीमा राखी उनीहरूको काम कारबाही रोक्का गरेपछि त्यस्ता कम्पनीमा कार्यरत नेपाली समस्या परेका हुन् ।

त्यस्ता कम्पनीको सूची राजदूतले खोजिरहेको छ ।


'रेडजोनमा पर्ने कम्पनी दिनप्रतिदिन बढिरहेको छ,' साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले कान्तिपुरलाई भने, 'त्यसबाट नेपाली कामदारहरू समस्यामा परेका छन् ।'

रेडजोनमा परेका कम्पनीको बैंकिङ कारोबार, भिसा नवीकरण, स्पोन्सरसिप, कामदारको परिचयपत्र बनाउनेलगायतको कारोबार सरकारले रोक्का राखेको छ ।

जसले गर्दा तलब नपाउने, परिचयपत्र नबन्ने, घर फिर्न नपाउनेजस्ता समस्यामा लिएर दूतावास धाउनेको संख्या बढेको दूतावासले जनाएको छ ।

दूतावासले यसरी समस्या परेका नेपालीलाई राहत दिन स्थानीय गभर्नर समन्वय गर्न सुरु गरेको छ । 'अल सोयमा कार्यरत ९४ जना कामदारको समस्यालाई यहाँ गभर्नरलाई भनेर टुंगो

लगाउन सफल भयौं,' पाण्डले भने, '६५ जना काम गर्ने साउदी फिउल कम्पनीको समस्या समाधान गर्नको लागि प्रक्रिया अगाडि बढाइएको छ ।'

सात महिनाअघि साउदी सरकारले आफ्ना बेरोजगार नागरिकलाई काम दिन हरेक कम्पनीले कम्तीमा १० प्रतिशत कोटा छुट्याउनुपर्ने व्यवस्था गरेको थियो । त्यसपछि सरकारको निर्देशन मानेको आधारमा कम्पनीलाई गि्रन (सबैभन्दा राम्रो) एलो (राम्रो) र रेड (खराब) मा वर्गीकरण गरिएको थियो ।

साउदी नागरिकलाई कम्तीमा ३ हजार रियाल (६६ हजार रुपैयाँ) दिनुपर्ने भएकाले अधिकांश कम्पनीलाई सस्तो कामदार (नेपालीलाई २२ हजार रुपैयाँ) राख्न पाइने भएकाले सरकारी नीति धेरै कम्पनीले कार्यान्वयन गरेका थिएनन् ।

साउदीका बेरोजगार नागरिकले २ हजार रियाल (करिब ४४ हजार) पाउँछन् । त्योभन्दा थोरै मात्रै बढी तलब पाइने हुँदा त्यहाँका नागरिकले काम नगर्ने आशंकामा धेरै कम्पनीले कोटा छुट्याउन अटेर गरेका हुन् । अटेर गरेपछि सरकारले कम्पनीको कारोबारलाई रोक्का गर्न थालेको हो । 'अहिले सरकारले निकै कडा गर्न थालेको छ,' राजदूत पाण्डेले भने, 'यसको असर हामीले पनि भोग्नुपरेको छ ।'

दूतावासका श्रम सहचारी चण्डेश्वर आचार्यले हरेक महिना कामदारले झन्डै एक सय कम्पनीसँग सम्बन्धित मुद्दा दूतावासले हेरिरहनुपरेको बताए । 'अधिकांशको तलब नपाएको र पचिरयपत्र नबनेको गुनासो छ,' उनले भने, 'यसले झन् समस्या थपिएको छ ।'

कामदारको परिचयपत्र नबन्दा गैरकानुनी हुने संख्या पनि बढेको दूतावासले जनाएको छ । 'कम्पनीले परिचयपत्र नबनाइदिँदा गैरकानुनी भए । गैरकानुनी भएपछि उनीहरू सजिलै घर जान सकेका छैनन्,' राजदूत पाण्डेले भने । यसरी गैरकानुनी भएको कामदार घर फिर्न जेल जानुपर्ने बाध्यता छ । दूतावासका अनुसार जेल जाने संख्या पनि बढेको छ । दमाम जेलमा सात सय नेपाली घर फिर्तीका लागि बसिरहेको दूतावासले जनाएको छ । त्यहाँबाट सातामा झन्डै तीन सय नेपाली घर फिर्न सफल भएको बताए ।

'कम्पनीले तलब नदिएपछि भाग्न बाध्य भए,' दुई महिनाअघि जेल गएका पाल्पाका जय विश्वकर्माले टेलिफोनमा भने, 'घर आउने दिन कुरेर बसिरहेको छु ।'

साउदीमा करिब ६ लाख नेपाली कार्यरत छन् । यो नेपालीहरूको प्रमुख गन्तव्य हो । साउदीमा हालै तलब बढेको खबरसँगै देखिएको यो नयाँ खाले समस्या हो । हालै त्यहा कार्यरत नेपालीले न्यूनतम २२ हजार रुपैयाँ पाउने व्यवस्था गरिएको थियो । साउदी जाने नेपाली कामदार अधिकांश अदक्ष छन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger