२९ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका डिफेण्डर सन्दीप राई एनसल फुटबल प्लेयर अफ दि इयर २०६९ घोषित भएका छन् । राष्ट्रिय टोलीका २२ प्रतिस्पर्धीलाई पछि पार्दै उनी वर्ष खेलाडी बनेका हुन् ।
उनले कार उपहार पाएका छन् । अखिल नेपाल फुटबल संघले बिहीबार कार्यक्रम गरी सन्दीपलाई हुण्डाई कार हस्तान्तरण गरेको छ । वर्ष खेलाडी घोषणा भएपछि उनले भने-’यो मेरो जीवनकै सबैभन्दा खुसीको क्षण हो । थप भन्न मसँग शब्द नै छैन ।’ पुरस्कारले थप जिम्मेबारी आएको भन्दै सन्दीपले साफ खेल जित्ने लक्ष्यका साथ अघि बने बताए ।
सन्दीपले १ लाख ११ हजार ३ सय १७ एसएमएस पाएका छन् भने प्रशिक्षकको १ हजार २ सय ५६ तथा पत्रकारको ४ सय ४९ अंक पाएका छन् । लिग च्याम्पियन थ्रीस्टारबाट व्यवसायीक फुटबल खेल्दै आएका उनी पछिल्ला वर्षहरुमा राष्ट्रिय टोलीको पहिलो रोजाईमा पर्दै आएका छन् । एन्फा एकेडेमीका उत्पादन सन्दीप एआरटी मनाङ हुँदै थ्रीस्टार पुगेका हुन् ।
फर्वाड भरत खवास दोस्रो भए । ६१ हजार ४ सय ८ एसएमएस मत पाएका उनले प्रशिक्षकबाट १ हजार २ सय ५६ र पत्रकारबाट ७ सय ५६ अंक पाएका छन् । उनी नेपाल आर्मीबाट व्यवसायीक फुटबल खेल्दै आएका छन् ।
मनाङ मस्र्याङ्दीबाट व्यवसायीक फुटबल खेल्दै आएका राष्ट्रिय टोलीका फवार्ड अनिल गुरुङ तेस्रो भए । ८५ हजार एसएमएस मत पाएका उनले प्रशिक्षकबाट ९ सय १२ र पत्रकारबाट ४ सय १० अंक पाएका छन् ।
फागुन २८ गतेबाट सुरु भएको एसएमएस भोटिङमा ५ लाख १९ हजार ६९ मत खसेको थियो । एनसेल प्रयोगकर्ताले मात्र भोटिङ गर्ने अधिकार दिइएको थियो । एसएमएस भोटिङलाई कूल १ सय पूर्णकमा ६० अंक मानिएको छ ।
यस्तै १ सय ११ प्रशिक्षकलाई भोटिङ अधिकार दिएकोमा ८२ जनाले भाग लिएका छन् । उनीहरु मध्ये ८ जनाको भोटिङ प्रक्रियामा गलत भएपछि रद्द गरिएको छ । ५४ पत्रकारलाई भोटिङ अधिकार दिइएकोमा ४३ जनाले भाग लिएका छन् । उनीहरुमध्ये ३ जनाको रद्द भएको छ ।
|