स्थलगत अनुसन्धानपछि दूतावासले भन्यो- ‘मलेसियामा नेपालीको ज्यान गएको छैन’
यहाँ रोजीरोटी खोज्ने भए कानुनको सम्मान गर्नैपर्छः मलेसियन प्रहरी
रामचन्द्र नेपाल
१६ चैत, क्वालालम्पुर । मलेसियाको जोहोरबारुस्थित पासिरगुडाङमा गत आइतवार भएको झडपमा कुनै पनि नेपालीको ज्यान नगएको र सवैको विबरण दुरुस्त देखिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
घटनापछि दूतावासबाट पुगेको अनुसन्धान टोलीले नेपाली कामदार, रोजगारदाता र प्रहरीसँग भेटेर छलफल गरेको र त्यसबाट सवै नेपालीहरुको बिबरण दुरुस्त देखिएको जनाएको छ ।
दूतावासले शुक्रबार साँझ जारी गरेको प्रेस बिज्ञप्तिमा कुन-कुन कम्पनीमा कति नेपाली छन र उनीहरुको अबस्था के छ भन्ने बिबरण खुलाएको छ ।
होष्टलमा रहेका, प्रहरी नियन्त्रणमा रहेका र अस्पतालमा उपचार गराईरहेका समेत जोड्दा सवैको बिबरण प्राप्त भएको र कोही पनि नहराएको दूतावासले प्रष्ट पारेको छ ।
मलेसियामा कामदारको मृत्यु भएको हल्लापछि दूतावासले प्रारम्भिक अनुसन्धान टोली खटाई त्यहाँ कुनै पनि नेपालीको मृत्यु नभएको उल्लेख गरेको थियो । तर सामाजिक संजालहरुमा हाइटीको द्वन्द्वमा मारिएहरुको तस्वीर राखी १५ जना नेपालीको मृत्यु भएको हल्ला चलाइएपछि दूतावासले दोस्रो चरणको अनुसन्धान टोली पठाई नेपालीहरुको बिबरण अद्याबधिक गरेको हो ।
मलेसियन प्रहरी भन्छ- ‘यहाँको कानुन पालना नगरे कडा कारवाही’
यसैवीच मलेसियन प्रहरीले जोहोरबारुमा भएको घटनामा कुनै पनि नेपालीको मृत्यु नभएको प्रष्ट पारेको छ । घटनापछि पहिलोपटक सार्वजनिक बक्तब्य दिंदै जोहोरबारु राज्यका प्रहरी प्रमुख मोक्तार मोहम्मद सरिफले भन्नुभयो- ‘स्थानीयसँगको झडपमा कुनै पनि नेपालीको मृत्यु भएको छैन, त्यो सरासर हल्ला हो ।’
मलेसियाको द स्टार अनलाइनका अनुसार नेपाली कामदारहरुले सार्वजनिक स्थलमा मदिरा सेवन गरेर होहल्ला गरेपछि स्थानीयसँग झडप भएको प्रहरीले दावी गरेको छ ।
घाइतेमध्ये चार जनालाई सुल्तान अस्पतालमा उपचार गरिएको र घटनामा संलग्न २२ जनालाई गिरफ्ता गरिएको उहाँले जानकारी दिनुभयो ।
जोहोरमा काम गर्न आउने बिदेशीहरुले मलेसियाको कानुनलाई कडाईपूर्वक पालना गर्नुपर्ने भन्दै उहाँले त्यसो नगरिएको सम्बन्धित देशमा डिर्पोट गर्नेसम्मका कडा कारवाही भोग्नुपर्ने चेतावनी दिनुभयो ।
‘यदि कोही बिदेशी यहाँ आएर राम्रो काम र राम्रो दामको अपेक्षा गर्दछन भने उनीहरुले यहाँको कानुनलाई सम्मान गर्नेपर्छ’- प्रहरी प्रमुख सरिफले भन्नुभयो ।
दूतावासको बिबरण जस्ताको तस्तै ....
स्रोत : ओंलाइनखबर
|