रामचन्द्र नेपाल
१६ चैत, क्वालालम्पुर । मलेसियाको जोहोरबारुस्थित पासिरगुडाङमा गत आइतवार भएको झडपमा कुनै पनि नेपालीको ज्यान नगएको र सवैको विबरण दुरुस्त देखिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
घटनापछि दूतावासबाट पुगेको अनुसन्धान टोलीले नेपाली कामदार, रोजगारदाता र प्रहरीसँग भेटेर छलफल गरेको र त्यसबाट सवै नेपालीहरुको बिबरण दुरुस्त देखिएको जनाएको छ ।
दूतावासले शुक्रबार साँझ जारी गरेको प्रेस बिज्ञप्तिमा कुन-कुन कम्पनीमा कति नेपाली छन र उनीहरुको अबस्था के छ भन्ने बिबरण खुलाएको छ ।
होष्टलमा रहेका, प्रहरी नियन्त्रणमा रहेका र अस्पतालमा उपचार गराईरहेका समेत जोड्दा सवैको बिबरण प्राप्त भएको र कोही पनि नहराएको दूतावासले प्रष्ट पारेको छ ।
मलेसियामा कामदारको मृत्यु भएको हल्लापछि दूतावासले प्रारम्भिक अनुसन्धान टोली खटाई त्यहाँ कुनै पनि नेपालीको मृत्यु नभएको उल्लेख गरेको थियो । तर सामाजिक संजालहरुमा हाइटीको द्वन्द्वमा मारिएहरुको तस्वीर राखी १५ जना नेपालीको मृत्यु भएको हल्ला चलाइएपछि दूतावासले दोस्रो चरणको अनुसन्धान टोली पठाई नेपालीहरुको बिबरण अद्याबधिक गरेको हो ।स्रोत:-ओनलाइन खबर
|