प्रविधीविद्ले एक यस्तो पारदर्शी कम्प्युटर बनाएका छन्, जो तपाईको सिस्टमको भित्रसम्म पुग्ने र डिजिटल कन्टेन्टलाई छोएर तपाईको कल्पनालाई आफ्नो हिसावले ढाल्ने सुविधा दिन्छ ।
लस एन्जसलमा टीईडीको कन्फ्रेन्समा यस कम्प्युटरको प्रारम्भिक स्वरुपबारे जानकारी दिइएको छ । बोष्टनको मासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजिबाट स्नातक तथा माइक्रोसफ्ट कम्पनीमा इन्टर्नसीप गरेका जिन्हा लीले यस्तो पारदर्शी कम्पुटरको अबधारणा अघि ल्याएका छन् ।
‘स्पेसटप थ्री डी डेस्कटप’ बनाउन जुटेका लीले यो आबिस्कार पूर्ण हुन एक दशकसम्म लाग्न सक्ने बताएका छन् । यो कम्प्युटरले प्रयोगकर्ताहरुलाई मेशिनसँग सम्वाद गर्ने मौका समेत दिनेछ । यो सिस्टममा एक पारदर्शी एलईडी डिस्प्ले हुनेछ, जसमा इन बिल्ट क्यामेरा लगाइएको हुन्छ । यो क्यामेराले प्रयोगकर्ताको हाउभाउ र आँखाको गति अनुसार आफूलाई एडजस्ट गर्छ ।
यो सिस्टम मानिसको बस्तुसँग सम्बाद स्थापित गर्ने आवश्यकतालाई लिएर डिजाइन गरिएको हो । यो आबिस्कारले मूर्तरुप लिएमा आगामी दशकमा कम्प्युटरको क्षेत्रमा अर्को क्रान्ति हुने बीबीसीले जनाएको छ ।
|