१४ पुस, बागलुङ । जिल्लाको मल्म गाविसवासीले रु डेढ करोडको लगानीमा गाउँमा केन्द्रीय विद्युत् विस्तार गरेका छन् । ग्रामीण विद्युतीकरणका लागि काम सुरु भएको चार वर्षपछि गाविसका सबै घरधुरीमा बिजुली बलेको हो । ६५० घरधुरी सङ्ख्या रहेको गाविसमा केन्द्रीय विद्युत् प्रसारणका लागि आर्थिक सङ्कलन र श्रमदान गरी रु एक करोड ५० लाख खर्च भएको घुम्टे विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर थापाले बताउनुभयो । छसय घरधुरीले रु एक हजार ५०० का दरले पैसा लगानी गरेका छन् । त्यसबाहेक करिब रु एक हजार ५०० बराबरको मिटर बक्स र वायरिङ खर्चसमेत स्थानीयले व्यहोरेको थापाले जानकारी दिनुभयो । करिब रु ३० लाख बराबरको स्थानीय श्रमदान भएको समितिले जनाएको छ । त्यसबाहेक विद्युत् विस्तारका क्रममा विद्युत् प्राधिकरणले रु १७ लाख सहयोग गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो । त्यस्तै मल्म गाविसको रु २५ लाख र जिल्ला विकास समितिको रु तीन लाख ५० हजार अनुदान सहयोगमा केन्द्रीय विद्युतीकरणको विस्तार भएको थापाले बताउनुभयो । कुल ६५० घरधुरीमध्ये वडा नं १ र २ का ५० घरधुरीमा स्थानीय ऊर्जा कार्यक्रमअन्तर्गत बिजुलीबत्ती बालिए पनि बाँकी ६०० घरमा केन्द्रीय विद्युत् बलेको छ । गाउँमा बिजुली पुगेपछि स्थानीयमा खुसी छाएको छ । गाउँमै साना लघु तथा घरेलु उद्योगहरु खुल्ने क्रम पनि बढेको छ । बत्ती पुगेपछि चार फर्निचर र तीन कुटानीपिसानी मिल सञ्चालनमा आएका छन् ।गाउँभरि बिजुलीबाट चल्ने दैनिक उपभोग्य वस्तु तथा सामग्री किन्ने र प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । घरघरमा बिजुली बले पनि महसुल तिर्न भने गाउँलेले सास्ती व्यहोर्दै आएका छन् ।
त्रैमासिकरुपमा बिजुली महसुल तिर्न सदरमुकाम नै धाउनुपरेको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर थापाले बताउनुभयो । विद्युत् प्राधिकरणको उपशाखा कार्यालय गलकोट हटियामा भए पनि महसुल बुझाउन सदरमुकामस्थित प्राधिकरण कार्यालयमा आउनुपर्ने बाध्यता रहेको थापाको भनाइ छ । उपशाखा हटियामा महसुल सङ्कलनका लागि घुम्ती शिविर जाने भए पनि मल्म र रिघा गाविसको रिडिङको समयतालिका नमिलेकाले शिविरमा महसुल बुझाउन सकिने अवस्था नरहेको थापाले जानकारी दिनुभयो । उपशाखामा दुईजना मात्र प्राविधिक रहेकाले त्यस क्षेत्रमा काम गर्न अप्ठ्यारो सिर्जना भएको छ । थापाका अनुसार महसुल सङ्कलन र प्राविधिकरणमा बुझाउने व्यवस्थाका लागि एउटा कर्मचारी राखिएको छ । कर्मचारी र प्राविधिकको तलब खर्चका लागि त्रैमासिकरुपमा प्रतिघर रु ५० अतिरिक्त रकम उठाउने गरिएको उपभोक्ता समितिले जनाएको छ । गाउँमै महसुल बुझाउने व्यवस्थाका लागि प्राधिकरणसँग माग गरिएको समितिका अध्यक्ष थापाले बताउनुभयो । रासस
|