१६ वैशाख, काठमाडौं । बर्मुडामा सुरु भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको पहिलो खेलमा नेपाल अमेरिकासँग ९४ रनले पराजित भएको छ । अपेक्षा गरे अनुसार बलिङ चल्न नसक्दा नेपालले हारको बाटो देखेको हो ।

नेपालका लागि कप्तान पारस खड्काले ७३ र सरद भेसवाकरले ७२ रन बनाए । शक्ति गौचनले ३९ र सुवास खकुरेलले २३, प्रदीप ऐरी र संजम रेग्मीले समान १४/१४ रन बनाए ।
उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा बसन्त रेग्मी ७, विनोद भण्डारी ४ र अनिल मण्डल शुन्यमै आउट भए । अमृत भट्टराईले खाता नै खोल्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा नील मिग्यारोलले ३ तथा मोहमद गू र एल्मोर हचिम्सनले समान २/२ विकेट लिए ।
यसअघि समरसेट क्रिकेट क्लबको मैदानमा पहिले व्याटिङ थालेको अमेरिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ६६ रन बनाएको थियो । उसका लागि स्टीवन टेलरले १ सय २ बलमा १ सय ६२ रन बनाए ।
१२ छक्का र चौंका हानेका टेलरलाई रोक्न नसक्नु नेपाली बलरहरुको कमजोरी रह्यो । स्टीवन टेलर र ओलाण्डर बेकरले पहिलो विकेटका लागि १ सय २५ रनको साझेदारी गरे ।
प्रतियोगिता अन्तरगत नेपालले आज युगाण्डासँग खेल्नेछ । पहिलो खेलमा बर्मुडालाई १ सय १४ रनले हराएको युगाण्डालाई हराउनै पर्ने दबाव नेपाली टोलीमाथि छ ।
|