
नेपाली माटो र नेपालकै रहनसहन सुहाउँदा सिरियललाई बिर्सिएर विदेशीको नक्कल गर्दा नेपालमा पारिवारिक सिरियलप्रति दर्शकको चाहना र चासो घटेको विश्लेण गर्छन् सोम धिताल । यस्तै नेपाल टेलिभिजनले समेत यस्ता सिरियललाई प्राथमिकता नदिएको उनको भनाइ छ । सुपर प्राइम टाइममा कमेडी या राजनीतिक बहसका कार्यक्रम प्रशारण हुन थालेपछि सिरियलले राम्रो समय नपाएको धितालको भनाइ छ । उनले भने, ‘नर्मल समय पारिवारिक सिरियलका लागि छुट्टाइएकाले पनि यसको क्रेज हराउँदै गएको हो ।’ मिडिया हबमा अहिले पनि ५७ भन्दा बढी सिरियलहरु थुपि्रएर बसेका छन् । तर यसबारेमा न त नेपाल टेलिभिजनले सोचेको छ, न त विज्ञापनदाताले नै । कमेडी सिरियलको क्रेज घट्दै गएपछि के गर्ने भन्ने योजना न त नेपाली संचारमाध्यमसँग नै छ न त मिडिया हब जस्ता एजेन्सीहरुले नै गरेका छन् । सफल सिरियल ‘परिचय’ निर्देशन गरेका निर्देशक ऋषि लामिछाने नेपाल टेलिभिजनलाई पैसा र पावरले चलाएका कारण यस्तो अवस्था आएको बताउँछन् । उनले भने, ‘नेपाल टेलिभिजनले सिरियललाई उपेक्षा गर्दै समय नछुट्टाएका कारण यो क्षेत्र धराशायी बनेको हो ।’ सामान्य समयमा समेत टेलिभिजनको समय महङ्गो हुनु र एजेन्सीहरु सिरियललाई लगानी गर्न इच्छुक नहुने मुख्य कारण भएको लामिछानेको भनाई छ । नेपाल टेलिभिजनले सिरियलका लागि राम्रो समय छुट्टाइदिने हो भने आफुले अझै पनि उत्कृष्ट सिरियल बनाउन सक्ने दाबी उनको छ । मानवीय संवेदना बोकेका सिरियलहरुले दर्शकलाई चेतना समेत जगाउने काम गर्छन् । तर, यसको महत्व सरोकारवालाहरुले नबुझ्दा नेपालमा सिरियलको बजार ध्वस्त हुँदै छ ।
|