सुर्खेत, आश्विन ५ - गोत्री १ बाजुराकी ५५ वर्षीया हंसा विष्ट कुष्ठरोग लागेपछि आफ्नै परिवारबाट अपहेलित भएकी छन् । परिवारका अन्य सदस्यलाई रोग सर्ने डरले हंसालाई घरदेखि टाढाको गोठमा राखिएको थियो । दुई वर्षअघिबाट रोगको लक्षण देखिए पनि यसबारे थाहा नपाएका हंसाले गत वर्ष सुर्खेत क्षेत्रीय अस्पतालमा जाँच गरेपछि थाहा पाएकी थिइन् । उनीसँगै आएका भाइले कुष्ठरोग लागेको घरपरिवारलाई जानकारी गराएपछि एक महिनाको उपचारबाट निको भई फर्केकी हंसाले आफूलाई परिवारले दुई घन्टा टाढाको गोठमा राखेको बताइन् ।

गाउँघरमा कुष्ठरोगलाई अघिल्लो जन्मको पाप भनिएकाले कुष्ठरोग लाग्ने वित्तिक्कै परिवारबाट अलग्गै राख्ने विगतको परम्परा विद्यमान रहेको बाजराकी हंसाका परिवारले उनीप्रति देखाएको व्यवहारले पुष्टि गरेको छ । हंसाको जस्तै कुष्ठरोगको उपचार गर्ने आइएनएफ सुर्खेतमा ३० जना बिरामी रहेको संस्थाका मेडिकल अधिकृत भण्डारीले बताइन् । हंसाको उपचार भइरहेको बताउँदै उनले घाउ नभएको तर खुट्टाका दागहरू लाटो भएकाले उपचार जारी रहेको बताइन् ।
आईएनएफ सुर्खेतमा जिल्लाका अलवा धेरैजसो दैलेख र जाजरकोटका बिरामी उपचारार्थ आउने गरेका छन् । सरकारले कुष्ठरोग निवारण भएको दाबी गरे पनि यी सुर्खेत जिल्लामा पछिल्लो पटक नयाँ कुष्ठरोगका बिरामी फेला परेको जानकारी डा. भण्डारीले दिइन् । सन् १९८२ अघि कुष्ठरोगका लागि प्रभावकारी उपचार विधि नभएको अवस्थामा त्यस्तालाई अन्य व्यक्तिमा सर्ने डरले घरदेखि अलगै राख्ने गरिए पनि अहिले बहुऔषधि प्रयोग विधिले एक डोज सुरु गरेपछि रोग नसर्ने स्वास्थ्यकर्मीको भनाइ छ । नियमित औषधि सेवनपछि निको हुने र औषधि खान सुरु गरेदेखि अन्य व्यक्तिमा सर्ने कुराको जानकारी नहुँदा मध्यपश्चिम क्षेत्रका विकट गाउँमा अहिले पनि कुष्ठरोग लागेका बिरामीले सामाजिक र पारिवारिक समस्या भोग्नुपरेको छ ।
कुष्ठरोगका लागि बहुऔषधि प्रयोगमा आएपछि नसर्ने र निको भई अंगभंग कम हुन थाले पनि रोग लागेका बिरामी सामाजिक तिरस्कारका डरले आफंै उपचारमा नआउने गरेको संस्थाले जनाएको छ ।
कुष्ठरोग लागेको थाहा पाएपछि घरबाट निकालिएकी बाजुरा गोत्री १ की हंसा विष्टको साथमा डा. रीता भण्डारी ।
|