मुम्बई, असोज ६ - पछुताउनका लागि मनिषा कोइरालाको जीवनमा कुनै स्थान छैन। वैवाहिक जीवनको 'असफलता'लाई छाड्दै उनले मुम्बईलाई आफ्नो घर बनाउन थालेकी छिन्। यस्तो लाग्दैछ,उनी फिल्ममा दोस्रो इनिङका लागि अगाडि बढ्दैछिन्। मनिषा भन्छिन्, 'म अर्थहीन यात्रामा रहेछु। मैले छ महिना अमेरिकामा विताएँ, दुई महिना पेरिसमा र त्यसपछि केही महिना नेपालमा। त्यतिखेर मैले पेरिसमा एउटाघर किन्दैछु भनेको थिएँ... क्रेजी ड्रिम्स...

नेपालकी यी हिरोइन आफ्नै कम्पनी एमके मुभिङ इमेजका काम फेरि थाल्दैछिन्। 'म सबै पूर्वाधार-वितरण, लगानीकर्ता आदि सही अवस्थामा राख्न चाहन्छु। मलाई राम्रो साथ मिल्छ। तर फिल्म थाल्नुअघि, म निर्माताकारुपमा आफूलाई सवल र आत्मविश्वासी बनाउन चाहन्छु,' उनले भनिन्।
करियरप्रति गहिरो चिन्ता नलिएको उनी स्वीकार्छिन् जसले उनलाई यसैउसै चल्ने, मस्तीमा रहने र सोचमग्न हुने अवस्थामा पुर्यायो। तर यसले पनि राम्रै परिणाम दिने उनको निष्कर्ष छ। 'म पूरै स्वास्थ्य र ध्यानमा सक्रिय छु। मैले काम गर्ने रफ्तार गुमाएको हो तर अव म जथाभावी भौतारिने छैन। म यतिखेर मुम्बईमा छु, केही फिल्म साइन पनि गर्दैछु। रामगोपाल वर्माको भूत रिटर्नस् भर्खरै सकेँ। हामी अर्को प्रोजेक्टको छलफलमा पनि छौं। निर्देशनमै असफल भएको हो तरपनि फिल्म निर्देशनको योजनामै छु। म वास्तवमै नर्भस छु। यसका वावजुद म आफ्नो परिवारसँग समय विताउन भ्याइरहेको छु। हरेक दिन ५ बजे उठेर मेरो ताइ ची क्लास सुरु हुन्छ। मेरा गुरु साँझ ६ बजे आउनुहुन्छ। मैले पार्टी गर्न छोडिसकेँ। त्यो भन्दा त म अभिभावकहरुसँग घरमै बस्छु। अहिले मेरो जीवनमा फरक खालमा रमाइलो छ,' उनले भनिन्।
भूत २ बाहेक उनले लेनिनले निर्देशक गरेको मलायलम फिल्म पूरा गरेकी छिन्। 'मैले काममा असाध्यै धेरै रुची दिन थालेको छु। मानिसहरुले मेरो करिअरप्रति रुची समाप्त भइसक्यो समेत भनेका छन्। त्यो भनाई गलत थियो,' उनले भनिन्। बिहे गर्नु उनका लागि ढुंगामा ठेस लागेजस्तै भयो। मनिषा भन्छिन्, 'मैले यतिखेर के अनुभूत गरेँ भने केही मानिसहरु बिहेका लागि सही हुन्छन, केही हुँदैनन्। म दोस्रोमा परेँ। अहिले नै हामी छुट्टै छौं। हामी दुबै अशल मानिस हौं। मेरो पतिप्रति कुनै गुनासो छैन। कुनै कुरा बोलेर म मेरो र उनको परिवारको चित्त दुखाउन चाहन्न।' - टाइम्स अफ इन्डिया
|